शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

लाइसेन्स नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानून संशोधन गर्दैछौँ : मन्त्री ज्वाला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
लाइसेन्स नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानून संशोधन गर्दैछौँ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने पनि बताए।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुर्‍याउन सरकार तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकार पछि नपर्ने चेतावनी दिए। उनले काठमाडौंको कोटेश्वरमा ‘फलाइओभर’ निर्माण गर्ने तथा उपत्यकाका अरु केही स्थानमा देखिएको यातायातको चाप व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख गरे।

कर्णालीको सदरमुकासँग राष्ट्रिय सडक सञ्जाल जोड्न तीव्रताकासाथ नेपाली सेनाले काम गरिरहेको बताउँदै मन्त्री ज्वालाले जनकपुर क्षेत्रका सडक र कमला पुलको पुन डिजाइनको काम गर्ने कार्य भइसकेकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गरिने उल्लेख गरे।

मुग्लिन-पोखरा सडकखण्डको केही क्षेत्रको काम तीव्ररुपमा अघि बढेपनि केही क्षेत्रले अझै गति लिन नसकेको जानकारी दिँदै उनले ओखलढुंगा र खोटाङ जिल्लाका सडकलाई पनि प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए।

यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताए।

अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानून संशोधन गर्न लागिएको उनको भनाइ छ। यात्री विद्युतीय मोटरसाइकल दर्ताको सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यविधि संशोधनको तयारी गरिएको जनाउँदै उनले यातायात क्षेत्रमा सुधारका काम गरिएको र यसलाई तीव्र गतिमा अगाडि बढाउने बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend