शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेनी-जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
बेनी-जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ।

काठमाडौं- गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि शुक्रबार बिहानदेखि अर्काे सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द हुनेछ। 

सवारी आवागमन बन्द गरेर काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सीमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। 

उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने राईले बताए। 

काभ्रेभिर बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक हो। हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी-जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ। करिब ६ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ देखि निर्माण सुरु गरिएको हो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend