काठमाडौं- मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नुवाकोटमा प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि जग्गा प्राप्तिको काम सुरु गरेको छ।
गत चैत २७ गते बसेको बैठकबाट प्रारम्भिक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्रक्रिया अगाडि बढाइएको एमसीए नेपालले जानकारी दिएको छ।
एमसीए नेपालले डबल सर्किट ४०० केभि क्षमताको विद्युत प्रसारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण आयोजनाका लागि आवश्यक जग्गा प्राप्त गर्नेसम्बन्धी मन्त्रिपरिषद्को २०७६ बैशाख २३ गतेको निर्णयअनुसार नै जग्गा प्राप्ति प्रक्रिया सुरु गरेको हो।
एमसीए नेपालले शिवपुरी, पञ्चकन्या, लिखु, बेलकोटगढी र तारकेश्वर क्षेत्रमा जग्गा प्राप्तिको सूचना सार्वजनिक गरेको छ।
