शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नतिजा दिनेगरी काम गर्न भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
नतिजा दिनेगरी काम गर्न भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशन दिएका छन्।

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन्। भन्सार विभागद्वारा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्। 

'आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु।'

आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढंगबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गरे। 'जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुवात गरौँ', उनले भने।

धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताए। उनले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरे। 'धेरै भन्सार नाकाबाट राजस्व संकलन न घटेको छ। ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ। भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ। यसलाई गम्भीर ढंगबाट लिनुहोला', मन्त्री महतले भने।

साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताए। उनले भने, 'राजनीतिक नेतृत्व यसमा गम्भीर छ। यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन।'

उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरु संवेदनशील रहेको भन्दै मन्त्री डा. महतले यस विषयमा भन्सारका अधिकारीहरुले पनि ध्यान दिनुपर्ने बताए। रासस 


प्रकाशित : सोमबार, चैत २७ २०७९०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend