शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मारुती सुजुकीको उत्पादन सामान्य हुँदै, नेपालमा बुकिङ गरेकालाई धमाधम कार

बुधबार, कात्तिक १० २०७८
मारुती सुजुकीको उत्पादन सामान्य हुँदै, नेपालमा बुकिङ गरेकालाई धमाधम कार

भारतमा कार उत्पादन सहज हुँदै गएकाले नेपालमा आपूर्ति समेत बढ्दै जाने छ। केही महिनाभित्र उपभोक्ताले चाहेअनुसार रोजेर कार खरिद गर्न सक्ने अवस्था आउने कम्पनीले जनाएको छ।  

काठमाडौं- भारतको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता कम्पनी मारुती सुजुकीको कार उत्पादन पहिलेकै संख्यामा फर्कने अवस्थामा पुगेको छ। विश्वभर अभाव रहेको चिपको आपूर्ति सहज भएसँगै कार उत्पादन पुरानै लयमा फर्कन लागेको मारुती सुजुकीले जनाएको छ। 

आगामी महिनाबाट मारुती सुजुकीको कार उत्पादन सामान्य अवस्था नजिक पुग्ने कम्पनीले जनाएको द इकोनोमिक टाइम्सले लेखेको छ। सेमिकन्डक्टरको आपूर्ति बढेकाले मारुती स्वीफ्ट, डिजायर, भिटार ब्रेजा र अन्य चर्चित मोडलको उत्पादन सुधार हुने कम्पनीले जनाएको छ। 

आउँदो नोभेम्बरमा मारुती सुजुकीले १ लाख ५० हजार वटासम्म कार उत्पादनको लक्ष्य राखेको छ। सेप्टेम्बर र अक्टोबरमा सुजुकीको कार उत्पादन ५० प्रतिशतसम्म घटेको थियो। 

सेप्टेम्बरको तुलनामा अक्टोबरमा सुजुकीको उत्पादन ४० प्रतिशतले बढेको थियो भने अक्टोबरको तुलनामा नोभेम्बरमा उत्पादन २० प्रतिशत बढ्ने अनुमान गरिएको छ। 

कोरोनाको दोस्रो लहर सुरु हुन पूर्व जनवरी-मार्चमा मारुती सुजुकीले भारतमा दैनिक औषत १ लाख ६७ हजार वटा कार उत्पादन गर्दै आएको थियो। यो नोभेम्बरमा सुजुकीले १ लाख ५० हजार कार उत्पादन गर्‍यो भने यो संख्या २०१७ नोमेम्बर यताकै धेरै हुनेछ। 

भारतमै कारको माग उल्लेख्य बढेको र सेमिकन्डक्टर अभावका कारण उत्पादन घटेकाले नेपालमा समेत कार आयात न्यून भएको थियो। साेही कारण मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटो कर्पले उपभोक्ताको माग अनुसार कार उपलब्ध गराउन नसकेको जनाएको छ। 

तर अब भारतमा कार उत्पादन सहज हुँदै गएकाले नेपालमा आपूर्ति समेत बढ्दै जाने छ। केही महिनाभित्र उपभोक्ताले चाहेअनुसार रोजेर कार खरिद गर्न सक्ने अवस्था आउने कम्पनीले जनाएको छ।  


प्रकाशित : बुधबार, कात्तिक १० २०७८११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend