शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रधानमन्त्री दाहाल भन्छन् - सहकारीलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्छ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
प्रधानमन्त्री दाहाल भन्छन् - सहकारीलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्छ

संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्।

पार्टी सम्बद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए। 

'संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ', प्रधानमन्त्री दाहालले भने, 'सोही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो। समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो। तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ।'

संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए। निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, 'संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ। संविधानमा जे-जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।' 

'संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहस छन्। कतिपय शक्ति परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन', प्रधानमन्त्री दाहालले भने, 'सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ।'

सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन नसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। 'नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ। उद्योगको हकमा पनि कृषिमा आधारितबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन। कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ', प्रधानमन्त्रीले भने। 

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए। प्रधानमन्त्रीले भने, 'कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु। चुनौती नै चुनौतीका बीचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु। यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु।'

आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुने जानकारी दिए। प्रधानमन्त्रीले दाहालले भने, 'परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन। त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजना ल्याउनुपर्छ। सत्ता समीकरणको चरित्रलाईसमेत ध्यान दिँदै केही न केही नयाँ गर्छौँं।' रासस 


प्रकाशित : बुधबार, चैत २२ २०७९०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend