शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मन्त्रिपरिषद् विस्तार गर्नेगरी बैठकमा सत्ता साझेदार; मन्त्रालयको संख्या टुंगियो, कसलाई कुन भन्ने टुंगिन बाँकी

बिहीबार , चैत १६ २०७९
मन्त्रिपरिषद् विस्तार गर्नेगरी बैठकमा सत्ता साझेदार; मन्त्रालयको संख्या टुंगियो, कसलाई कुन भन्ने टुंगिन बाँकी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। कुन पार्टीलाई कति मन्त्रालय भन्ने विषय टुंगो लागे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन। 

आज शपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो। सो गठबन्धनको बैठकको निर्णय पछि आजै नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुनेछ। 

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताइसकेका छन्। जसअनुसार माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादी पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ।

तर नेकपा एसले तीन मन्त्रालयमा दाबी गरेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डा नपाएको मात्रै होइन कुन पार्टीले कुन कुन मन्त्रालय पाउने भन्नेमा निर्णयमा नपुगेपछि आज बिहान पुनः सत्तारुढ गठबन्धनको बैठक बसेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत चैत ६ गते विश्वासको मत लिएका थिए। उनले त्यसको चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका भए पनि अहिलेसम्म त्यो पूरा हुन सकेको छैन। 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend