आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कांग्रेसको अर्थमन्त्रीलाई सेयर बजारले पत्याउन खोजेको हो?

images
बुधबार, चैत १५ २०७९
images
कांग्रेसको अर्थमन्त्रीलाई सेयर बजारले पत्याउन खोजेको हो?
images
images

काठमाडौं- लगातार घटिरहेको सेयर बजार अहिले पुनः लयमा देखिन थालेको छ। खासगरी मन्त्रिपरिषद् गठनको अन्तिम तयारी हुँदा सेयर बजार पनि लयमा देखिएको छ। नेपाली कांग्रेस नेतृत्वलाई पछिल्लो समय खासै नपत्याएको सेयर बजारले यसपटक भने भिन्न रुप देखाउँदै छ।

images
images
images

सेयर बजारले पछिल्लो समय एमाले अर्थमन्त्री हुँदा मात्रै बुल समातेको छ। सोही कारण पनि कांग्रेससँग त्रस्त बजार के हुन्छ भन्ने चासो लगानीकर्तामा छ। 

images
images

साताको दोस्रो कारोबारमा सोमबार सुधार देखिएको सेयर बजारमा मंगलबार पनि सुधार देखिएको छ। निरन्तर ओरालो लागिरहेको बजारमा लगातार दुईदिन सुधार देखिएको हो।

images
images

सरकार विस्तारमा देखिएको अन्योलले लगानीकर्ता विश्वस्त हुन नसकिरहेको समयमा पनि बजारले सुधारको आश देखाएको छ। अब मन्त्रालय भागबन्डाको टुंगो लागेसँगै नीतिगत साथ पाउने आश्वस्तता आए बजारले गति समात्ने विश्लेषकहरू बताउँछन्।

मंगलबार १२.१० अंकले बढेर बजार १९१८.१० बिन्दुमा पुगेको छ। १ सय ४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ४४ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ। मंगलबार सुपर माई हाइड्रोपावर, सृजनशील लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावर लिमिटेडमा समारात्मक सर्किट लागेको छ। 

यो साता आइतबार आइतबार २६‍.८७ अंकले घटेको बजार सोमबार १७.७० अंकले बढेर बजार १९०६.०० बिन्दुमा पुगेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ।

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका थिए। अहिलेको लगातारको सुधारमा लगानीकर्ताको विश्वास बढाउन नयाँ आउने अर्थमन्त्रीले पहल गर्नुपर्ने संगठित लगानीकर्ताहरूले बताएका छन्। 

सूचकले साथ दिँदै 

बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउँदैछन्। बैंकको निक्षेप पनि बढ्दो ट्रेन्डमा रहेको छ। तर पनि सेयर बजार भने बढ्न सकेको छैन। ब्याजदर घट्दा धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने यसअघिका प्रक्षेपणहरू असफल भएका छन्। 

ब्याजदर घट्दा धितोपत्र बजार बढ्ने र ब्याजदर बढ्दा बजार बढ्ने गर्छ। पछिल्लो समयमा मौद्रिक बजारको अल्पकालीन ब्याजदरमात्र नभइ बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर समेत घटाएका छन्। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले धमाधम ब्याजदर घटाइरहेका छन्। बैशाखदेखि ऋणको ब्याजदर कम्तिमा २ प्रतिशत घट्ने निश्चित छ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप मंगलबार साँझसम्म ५४ खर्ब ८ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरूको निक्षेप भने ४७ खर्ब ६८ अर्ब पुगेको छ। 

अन्तर बैंक ब्याजदर ७.०१ प्रतिशत झरेको छ। केही दिनअगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो। निक्षेप र ऋणको सीडी रेसियोदर पनि ८५.६५ प्रतिशतमा आइपुगेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो पुग्नका लागि बैंकहरूले अझै २ खर्ब ५० अर्बभन्दा बढी ऋण प्रवाह गर्न सक्ने देखिएको छ। 


प्रकाशित : बुधबार, चैत १५ २०७९०२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend