शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हवाई सुरक्षामा आक्रामक बन्दै उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीको गतिविधिमा सुक्ष्म निगरानी

बढी लोड लिएर उडान गर्ने निगमका पाइलटदेखि ग्राउन्ड स्टाफसमेत कारबाहीमा

बुधबार, चैत ८ २०७९
हवाई सुरक्षामा आक्रामक बन्दै उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीको गतिविधिमा सुक्ष्म निगरानी

घटना १ : सोमबार ताप्लेजुङबाट काठमाडौंका उडेको नेपाल एयरलाइन्सले जहाजले तोकेभन्दा बढी लोड बोकेपछि उक्त उडानमा संग्लन सबैलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने निर्णय गरेको छ। प्राधिकरणले उक्त उडानका संलग्न चालकदलका सदस्य, ग्राउण्ड स्टाफ र फ्लाइट डिस्प्याचरलाई कारबाही गर्ने निर्णय गरेको हो। उक्त उडानमा तोकेभन्दा १ सय ५ किलो लोड बोकेको फेला परेको थियो।

घटना २ : आइतबार पनि प्राधिकरणले नेपाल वायुसेवा निगमका दुईजना कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेका थिए। प्राधिकरणले जहाजको ककपिटको झ्याल रातभरी खुला राखेको विषयमा प्राविधिक कर्मचारीलाई ग्राउन्डेड गरेको हो।

घटना ३ : फागुन २५ गते काठमाडौंबाट भैरहवा उडानमा रहेको श्री एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि जहाज काठमाडौं विमानस्थलमै आपतकालीन अवतरण गरिएको थियो। सोही विषयलाई लिएर प्राधिकरणले श्री एयरको उडानमै प्रतिबन्ध लगाएको थियो। उडानमा प्रतिबन्ध लगाउँदै प्राधिकरणले एयरको सबै जहाजको परीक्षणपछि उडान प्रतिबन्ध फुकुवा गरेको थियो।

घटना ४ : फागनु ३० गतेपनि प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै समिट एयरका दुईजना पाइलट/को-पाइलटलाई ग्राउन्डेड गरेको थियो।

घटना ५ : फागुन ८ गते पनि प्राधिकरणले पाइलट तथा कर्मचारीलाई तलब नदिएको र एयरलाइन्स वित्तीय संकटमा गएको भन्दै गुण एयरलाइन्सलाई ग्राउन्डेड गरेको थियो। एयरलाइन्स अहिले पनि ग्राउन्डेड नै छ। 

यी त प्रतिनिधि घटनामात्रै हुन्। पछिल्लो समय हवाई सुरक्षाको विषयलाई लिएर प्राधिकरणले सबै वायुसेवाको गतिविधिलाई सुक्ष्म रुपमा हेरिरहेको प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी बताउँछन्। 'हवाई उड्डयन क्षेत्रमा सबैभन्दा पहिलो विषय सुरक्षा हो। सुरक्षाको विषयमा प्राधिकरणले कुनै पनि कम्प्रमाइज हुन दिँदैन,' महानिर्देशक अधिकारीले भने, 'हवाई यात्रुको सुरक्षापछि मात्रै बिजनेस हो। सुरक्षाको कमजोरी लुकाएर व्यवसाय हुन सक्दैन।'

सुरक्षाकै विषयलाई लिएर युरोपियन युनियन (ईयू)ले नेपाली वायुसेवा कम्पनीहरूलाई सुरक्षा चासोको लिस्टमा राखेको छ। सन् २०१३ देखि सुरक्षा चासो लिस्टबाट नेपाललाई ईयूले हटाएको छैन।

ईयूले नेपालको हवाई सुरक्षामा पछिल्लो समय भएको कामलाई लिएर लिस्टबाट हटाउने प्रक्रियासमेत अगाडि बढाएको छ। 'हवाई सुरक्षाको विषयमा प्राधिकरणले कसैको दबाव पनि स्वीकार गर्दैन। कानूनी संगत काम हुन्छ,' महानिर्देशक अधिकारीले भने।

साथै नेपाल अहिले सुरक्षाको हिसाबमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको केही समयअगाडि मात्रै गरेको अडिटमा पनि अब्बल देखिएको छ। नेपालको स्कोर ७१ प्रतिशतभन्दा माथि छ। यसलाई अझ माथिल्लो तहमा लैजान र ईयूको सुरक्षा चासो लिस्टबाट नेपाली वायु सेवा कम्पनीहरूलाई हटाउन पनि प्राधिकरणले हवाई सुरक्षाको विषयमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता गरेको छ।

प्राधिकरणले हवाई सुरक्षाकै विषयमा लिएर केही समयअगाडि मात्रै उडानमा पनि नयाँ व्यवस्था जारी गरेको थियो।

प्राधिकरणले आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्न नपाइने, दैनिक १० घण्टा तथा १० वटासम्म ल्यान्डिङ गर्न पाउने व्यवस्थालाई पनि परिवर्तन गरेर ८ घण्टा र ८ ल्यान्डिङ मात्रै गर्ने पाउने ,पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था र वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गइ सीप परीक्षण गर्नुपर्ने विषय जारी गरिसकेको छ।

यसैगरी प्राधिकरणले आर्थिक संकटले हवाई सुरक्षामै असर पर्ने देखिएपछि जहाज र हेलिकप्टर कम्पनीहरूको वित्तीय अडिट गर्ने निर्णय गर्दै अहिले अडिट गरिरहेको छ। प्राधिकरणको अडिटमा ग्राउन्डेड गुण एयरलाइन्सको वित्तीय अवस्था नाजुकर देखिएको छ।


प्रकाशित : बुधबार, चैत ८ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend