बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजारमोहले रित्तिए गाउँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
बजारमोहले रित्तिए गाउँ

गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन।

ढोरपाटन- एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला-ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। 

स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला सहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो। पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ। ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराई तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ। अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ। गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ। 

निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदै गएका छन्। गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन। गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ’, उनले भने। तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ। योसँगै पोखरा, काठमाडौं, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन्। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन्।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्’, अध्यक्ष बुढामगरले भने। निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ। बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन्।

उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ। गाउँका घर जीर्ण बन्दै गएका छन्। घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट-७ का विष्णु थापाले बताए। बसाइँसराइले गाउँ रित्तिँदा उत्पादनमा कमी आएको छ। धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन्। गाउँ उराठ बन्दै गएका छन्। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend