शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गवारो रोगको प्रकोपले सुक्न थाले केराको बोट, पेसा संकटमा पर्ने चिन्तामा किसान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
गवारो रोगको प्रकोपले सुक्न थाले केराको बोट, पेसा संकटमा पर्ने चिन्तामा किसान
फाइल तस्बिर

केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ।

गलेश्वर- विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ। धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन्।

केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ। जिल्लाको बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसान चिन्तित भएका हुन्। 

त्यसैगरी डढुवा रोगका कारण आलुका बोट पनि सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन्। कतिपय ठाउँमा औषधी प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक जीतबहादुर कार्कीले बताए। 

यता केरा गाउँका रूपमा परिचय बनाएको बेनी-२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन्। केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्। उनले करिब आठ रोपनी खेतमा केराखेती गरेका छन्। 

बगरफाँटका कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा संकटमा परेको बताए। यहाँको सिंगो गाउँका कृषक केरा खेतीमा संलग्न छन्। सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ। 

आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गरेकाका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए। हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रूपैयाा आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए।

‘झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ’, उनले भने। उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको कृषक थापाले जानकारी दिए। 

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका अर्का कृषक शोभित शर्माले बताए। ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ’, उनले भने। 

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन्। उनीहरूले स्थानीय सरकारसँग सहुलियत र सहयोगको माग समेत गरेका छन्। रासस


प्रकाशित : बुधबार, फागुन १० २०७९११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend