बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्र बैंकले नेप्सेमा रहेको ५.९ प्रतिशत सेयर झन्डै एक अर्बमा राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने

मंगलबार, फागुन ९ २०७९
राष्ट्र बैंकले नेप्सेमा रहेको ५.९ प्रतिशत सेयर झन्डै एक अर्बमा राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ५ दशमलव ९ प्रतिशत सेयर वाणिज्य बैंकले खरिद गर्ने भएको छ। राष्ट्र बैंकको स्वामित्वमा नेप्सेको १४ दशमलव ६ प्रतिशत सेयरमध्ये ५ दशमलव ९ प्रतिशत सेयर वाणिज्य बैंकलाई बिक्री गरिने भएको हो।

सरकारी संस्थाले सरकारी संस्थालाई नै ‘जी टू जी’ मोडलअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले बिक्री गर्न लागेको सेयरमा सञ्चयकोष र राष्ट्रिय वाणिज्य बैंकले चासो दिएका थिए। सञ्चकोषलाई पछि पार्दै वाणिज्य बैंकले सेयर खरिदमा बाजी मारेको छ। यसअघि राष्ट्र बैंकको १० प्रतिशत सेयर सञ्चयकोषले खरिद गरेको थियो। 

‘राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकको बिक्री गर्न लागेको सेयर खरिद गर्न लागेको हो, तर केही विषय अझै बाँकी छ,’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले भने। खरिद गर्ने निश्चित भएपनि सम्झौता हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिए। राष्ट्र बैंक स्रोतले अनुसार वाणिज्य बैंकलाई बिक्री गर्नका लागि सञ्चालक समितिले निर्णय गरेको जानकारी दिएको छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको नेप्सेको सेयर बिक्री गर्न लागेको हो। बिक्रीपछि राष्ट्र बैंकमा नेप्सेको ९.५ प्रतिशत मात्र सेयर स्वामित्व रहनेछ। वाणिज्य बैंकका सीईओ श्रेष्ठले खरिद मूल्य र भ्यालुको विषय टुंगिन बाँकी रहेको बताए पनि राष्ट्र बैंक स्रोतले आर्थिक वर्ष २०७८/७९ कै वित्तीय विवरणअनुसार बिक्री हुन लागेको जनाउ दिएको छ। वित्तीय विवरणमा प्रतिकित्ता ६ सय ७६ दशमलव ५२ रुपैयाँ तोकिएको छ। जसको बजार मूल्य ९८ करोड ७७ लाख १० हजार हुनेछ।  

विगतमा समय कर्मचारी संचय कोषले १० प्रतिशत र लक्ष्मी बैंक तथा प्रभु बैंकले समान ५ प्रतिशत सेयर प्रतिकित्ता ११४४ रुपैयाँमा बिक्री गरेको थियो। वाणिज्य बैंकले सेयर खरिद गरेपछि नेपाल सरकारपछि सबैभन्दा धेरै सेयर हुनेमा वाणिज्य बैंक हुनेछ।

नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव २१ प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्र बैंकको ९ दशमलव ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, र विभिन्न सेयर ब्रोकरहरुको शून्य दशमलव ६३ प्रतिशत सेयर लगानी हुनेछ। 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend