बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अनि फुटपाथबाट गायब भइन् फूलमाया

सोमबार, फागुन ८ २०७९
अनि फुटपाथबाट गायब भइन् फूलमाया

ए आमै! बसीबसी नखाएर के गाडा ठेल्दै हिँडेको यो उमेरमा पनि? ...'रहर कसलाई छ र नानी !'... हाम्रो पहिलो संवाद थियो यो। 

उनको नियमित ग्राहक बनेको करिब एक सातापछि बल्ल हामी एकअर्कासँग खुल्न थालेका थियौँ। एकदिन भेट नहुँदा ‘कारण’ सोधीखोजी गर्ने हक पाइसकेझैँ मैले जिज्ञासा राखेँ - किन यति मरिमेट्नु हुन्छ, आराम गर्नू क्या अब त। 

रसिला नयन मतिर डुलाउँदै उनले भनिन्, ‘मलाई अब सधैँका लागि आराम गर्न मन छ। हिँड्दाहिँड्दै पक्लक्कै मर्न पाए नि हुन्थ्यो झैँ भएको छ। गरिखान नपाइने भइहाल्यो।’

विगत ३० वर्षदेखि फुटपाथमा मकै पोलेर जिविकोपार्जन गर्दै आएकी फूलमायाको सामर्थ्य छैन अब काठमाडौं महानगरसँग लुकामारी खेल्ने। उमेरले ६८ कटिसकेकी उनी दिनहुँको भागदौडले गलिसकेकी छिन्। हरेक दिनको लखतरानपछि पनि उनलाई ऋणको भारीले आराम गर्न दिएको छैन। 

खाइ-नखाइ काठमाडौंमा बनाएको घर फाइनान्समा छ। मुस्किलले मासिक १५ हजार आम्दानी हुन्छ। किस्ता बुझाउनुपर्छ १६-१७ हजार रुपैयाँ। ऋण तिर्न ऋण लिनुपर्ने अवस्था छ। ऋणको भारी नबिसाइ उनलाई आराम गर्ने छुट छैन। 

काठमाडौंमा घर भएकालाई त पुगिसरी छ भन्ने भाष्य उनैलाई हेर्दा पनि गलत साबित हुन्छ। काठमाडौंमा घर भएर पनि किन यस्तो व्यापार? भनेर प्रश्न गर्नेहरूलाई उनको पूर्वनिर्धारित प्रतिप्रश्न हुन्छ- घरले खान लाउन दिन्छ र?

समयमै चोकमा गाडा निकाल्न पाइन् भने ऋण तिर्न ऋण लिनुपर्ने हुँदैन। मासिक २० हजार त जसोतसो आम्दानी हुन्छ। तर महानगरले कुने दिन त साँझ ६-७ बजेसम्म पनि लखेट्ने उनको भनाइ छ। ‘दुःख गरेर खान्छु भन्दा पनि नपाइने भइयो। एउटा छुट्टै ठाउँ बनाइदिएर हटाएको भए पनि हुन्थ्यो बरु’, उनी भन्छिन्, ‘रहर कसैलाई हुँदैन नि फुटपाथमा धुलो खाँदै ग्राहक ढुकेर बस्न।’

दैनन्दिन महानगरका प्रहरीसँग लुकामारी, भागदौड चलिरहेका बेला मेयरमा बालेन्द्र शाहको उम्मेदवारीले ढाढस मिलेको थियो। तर परिणाम उनले कल्पना गरेजस्तो भएन। बालेन्द्र नेतृत्वमा आएको तीन महिना नपुग्दै उनको आशामा आहत पुग्यो। फुटपाथका व्यापार व्यवसाय हटाउन कस्सिएर लागेका बालेन्द्रको कामले उनको तनाव बढाएको छ।

‘गरिबको पेटमा लात हानिएको छ। गरिखान्छुभन्दा पनि नपाउँदा त देश नै आफ्नो होइनझैँ लाग्छ’, फूलमायाले गुनासो पोखिन्।

सुख र खुसीका दिन आउलान् नि भन्दाभन्दै झन्डै सात दशक दुःखमै बित्यो उनको। सानैदेखि दुःखमा हुर्किएकी फूलमायाको विवाह ७ वर्षको उमेरमा ३२/३३ वर्षका पुरुषसँग भयो।

माइतीमै बस्दै आएकी उनलाई विवाह भएको ७ वर्षपछि १४ वर्षको उमेरमा श्रीमानले भारत लिएर गए। उनलाई लिएर गएको एक वर्षमा नै दार्जिलिङतिर चिया टिप्ने काम गर्न जान्छु भनेर हिँडेका श्रीमान् बेपत्ता भए। 

जीवितै छन् या बितिसके भन्ने खबरसमेत उनले पाइनन्। त्यसपछि उनी भारततिरै ज्यामी काम गर्न थालिन्। 

न सन्तान न सहारा कोही। उनीसँगै काम गर्नेहरूले अर्का युवकसँग विवाह गराइदिए। दोस्रो श्रीमानबाट सात सन्तान जन्मिए। पाँच छोरा, दुई छोरी। एउटा छोरा र एउटी छोरी भारतमै बिते। 

दोस्रो श्रीमान् पनि बेपत्ता भएपछि पाँच सन्तान साथमा लिएर उनी ३३ वर्षको उमेरमा (४५ सालतिर) काठमाडौं आइन्। ज्यामी काम गरेर सन्तानलाई एक्लैले हुकाइन्, बढाइन्, पढाइन्। ०४९ सालदेखि उनले मकै पोलेर बेच्न थालेकी हुन्। 

सन्तान हुर्किएपछि सबै मिलेर ऋण काढेरै भए पनि काठमाडौंमा घर बनाए। घर बनाउँदा लागेको १७ लाख रुपैयाँ ऋण तिर्न सबै लागिपरेका छन्। उनी पनि आफ्नो भागको ऋण तिर्न दिनहुँ भागदौड गरिरहेकी छन्। 

एकाएक हराइन् फूलमाया

राति २ बजे नै उठ्यो। नाम्लो र बोरा बोकेर कालीमाटी बजार गयो। नब्बे-सय घोगा मकै ल्यायो। खाना रुचे खायो, नरुचे भोकै ठेलागाडामा हरिया मकै र दाउराका भारी राखेर गुडाउँदै फुटपाथतिर निस्कियो! यसरी नै बितिरहेको दैनिकीमा पूर्णविराम लाग्ने पीरले पिरोलिएकी फूलमाया एकाएक फुटपाथबाट हराएकी छन्। 

नगर प्रहरीले लछारपछार पार्ने डरले दिनभरी भित्री सडकतिर डुलेर साँझ ७ बजेतिर चाबहिल चोकमा आइपुग्ने उनी भदौयता फुटपाथमा देखिएकी छैनन्। ‘संघर्षबिनाको जीवन, जीवन नै होइन। शरीरले सकुन्जेल काम गर्नुपर्छ मान्छेले’ भन्ने फूलमाया एकल जीवन बिताइरहेका महिलाका लागि ऊर्जा र प्रेरणा थिइन्। 

कोमल फूलजस्तो उनको मीठो बोली उत्तिकै मीठो थियो। एकदिन आउने ग्राहक उनको बोलीले नै नियमित बन्थे।

उनमा परिश्रम गर्नुपर्छ भन्ने हुटहुटी थियो, ऊर्जा थियो। तर महानगरको सडक पेटी खाली गराउने कामले उनको आत्मसम्मान र ऊर्जामा ठेस पुग्यो। उनी बिस्तारै गल्दै थिइन्। उठीबास लाग्ने चिन्ताले मन उथलपुथल भएको पीडा सुनाउँथिन् कहिलेकाहिँ। 

‘दिनहुँ महानगरले लखेट्छ। अब फुटपाथ व्यवसाय नै हटाउने हल्ला छ। सबैजना डराएका छन्। न खाना रुच्छ, न राम्रोसँग निद्रा नै पर्छ’, एक साँझ उनले आँखा टिलपिल पार्दै सुनाएकी थिइन्, ‘थाप्लामाथिको ऋणले पिरोलिरहन्छ। अचेल आँखाहरू ओभाउँदैनन् नानी मेरा। किस्ता के गरी तिर्नेहोला।’ 

हाम्रो अन्तिम फुटपाथ संवाद थियो यो। त्यसपछि उनलाई देख्ने अवसर जुरेको छैन। 

०४९ सालदेखि काठमाडौंमा मकै पोलेर जिविकोपार्जन गर्दै आएकी उनले जिविकाको अर्को उपाय भेटेर फुटपाथ छाडेकी होलिन् कि अब भयो भनेर हार खाइन्? निन्द्रा पर्दो हो कि नाइँ? छाक कसरी टारिरहेकी होलिन्? ... सयौँ प्रश्न छन् मनमा, सोध्न पाएको छैन! 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend