शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

भेट्न मुस्किल छ कुवा र पोखरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १९ २०७९
images
भेट्न मुस्किल छ कुवा र पोखरी

अहिले गाउँमा कुवा भेटिँदैनन्। पोखरी पनि भेट्टाउन मुस्किल पर्छ। बुढापाकाले पानीको मुहान संरक्षणका लागि पनि पोखरी बनाउने र बाह्रै महिना पोखरीमा पानी हालिराख्थे। तर अहिले कसैले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन।

images
images

ढोरपाटन- निसीखोला गाउँपालिका-४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे। पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो। कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे। अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन्। त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन।

images
images
images

स्थानीयवासीले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो। प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए। गाउँमा जथाभावी सडक निर्माण गर्दा कुवा पनि सुक्दै गए। हराउँदै गए। अहिले यी कुनै पनि गाउँमा कुवा भेटिँदैनन्। पोखरी पनि भेट्टाउन मुस्किल पर्छ। बुढापाकाले पानीको मुहान संरक्षणका लागि पनि पोखरी बनाउने र बाह्रै महिना पोखरीमा पानी हालिराख्थे। तर अहिले कसैले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन।

images
images

'अहिले सबैको घरमा धारा बनेका छन्, कसैलाई पनि पोखरी र कुवामा गएर पानी बोक्नु पर्दैन, हुन त अहिले पोखरी र कुवा भेट्टाउन पनि सकिँदैन', स्थानीय ७९ वर्षीय शेरबहादुर घर्तीले भने, '१०/१२ वर्षअघिसम्म गाउँको धेरै ठाउँमा पानीका मुहान थिए, पोखरीमा भैँसीलाई आहाल खेलाइन्थ्यो, अहिलेको जस्तो धारा थिएनन्, कुवाकै पानी खाएर हामी हुर्किएको हो।'

images
images

उनी विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउँछन्। घर्तीमगरले गाउँमा जथाभावीरूपमा खनिएका सडकले पानीको मुहान सुक्नुका साथै कुवा र पोखरी हराएको बताए। पछिल्लो समय खानेपानीको मुहान पनि सुक्दै गएकोप्रति घर्तीले दुःख व्यक्त गरे। पोखरी मौलिक सम्पदा भएको भन्दै यसको संरक्षणमा अहिलेको पुस्ताको ध्यान नगएको उनी बताउँछन्।

उनी भन्छन्, 'पहिलेको जस्तो गाईभैँसीलाई पोखरीमा लगेर पानी खुवाउने चलन हराए, अहिले गाठेमै खानेपानीको पाइप पुगेका छन्, पशुचौपायले पनि सफा पानी पिउन पाएका छन्, गाउँमा पहिलेको जस्तो प्रशस्त पानीको मुहान छैनन्, धेरै ठाउँमा मुहान सुकिसके, पोखरी त कतै बाटोमा परिणत भएका छन् त कतै, बेवारिसे बनेका छन्, कुवा, धारा र पोखरीको संरक्षण गर्दा धर्म संरक्षण हुन्छ, पाप पखालिन्छ भन्थे बूढापाका, अहिले त कसले संरक्षण गर्ने?'

अर्का स्थानीय बेलबहादुर क्षेत्रीले यस क्षेत्रमा पछिल्लो समय पानीको मूल सुक्ने समस्या गम्भीररूपमा बढिरहेको बताए। परापूर्वकालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणको विषय स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो छ। पोखरी संरक्षणबाट पानीको मूललाई जोगाउन भनेर स्थानीय तहले कार्यक्रम बनाउनसके वातावरणमा सुधार आउने क्षेत्रीको भनाइ छ।

'पहिलेपहिले बाटोघाटोमा धारो बनाउने, पोखरी बनाउने र कुवा संरक्षण गरे पुण्य कमाइन्छ भन्ने प्रचलन थियो, त्यसले गर्दा खानेपानीको समस्या हुँदैनथ्यो, जहाँ गयो, त्यहीँ प्रशस्त पानी पाइन्थ्यो, खै अहिले कहाँ छन् ती पोखरी, कुवाहरू?' उनले भने, 'यस्ता सम्पदा त गाउँलेले पनि संरक्षण गर्नुपर्ने हो, तर कसैले ध्यान दिँदैनन्।'

निसीखोला गाउँपालिका-२ मा कुवा र पोखरीको संरक्षण नगर्दा खानेपानीको समस्या पर्दै आएको छ। स्थानीय कूलबहादुर विकले दुई दशक अगाडि गाउँमा प्रशस्त खानेपानी रहेको स्मरण गर्दै अहिले दैनिक खानेपानीका लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेको बताए। यहाँका करिब दुई बीस बढी घर परिवारले आकाशे पानीको भर पर्नु परेको विकले गुनासो पोखे। 

बर्सातको समयमा आकाशे पानी सङ्कलन गरेर हिउँदको आधा समय गुजारा कटाउने गरेको उनको भनाइ छ। 'पहिला हाम्रा बाउबाजेले पानीका मुहानको निकै संरक्षण गर्थे, जहाँ मूल छ, त्यहाँ बार लगाएर राख्थे, रुख बिरुवा रोप्थे तर अहिले, रुख बिरुवा रोप्नेभन्दा बढी काट्न, ढाल्ने छन्, त्यही भएर पनि होला यो गाउँमा खानेपानीको यति धेरै समस्या परेको', उनले भने, 'बर्खामा घ्याम्पोमा सङ्कलन गरेको पानी डेढ महिना पनि पुग्दैन, लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिन्छ, दिनभर पानी ओसार्न ठिक्कै हुन्छ, अरु काम त गर्न भ्याइँदैन।'

निसीखोला गाउँपालिका परम्परागत कुवा, धारा तथा पोखरी संरक्षणमा जुटेको छ। गत वर्ष एक दर्जन बढी पोखरी निर्माण गरेको गाउँपालिकाले यस वर्ष पनि थप नयाँ निर्माण गर्ने तथा पुराना मर्मत सम्भार गर्ने योजना गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। उनले पानीको मुहान सुक्न थालेपछि गाउँपालिकाले कुरा, पोखरी र ताल संरक्षण गर्ने अभियान चलाउने बताए। 

गौतम भन्छन्, 'गाउँपालिकाले सम्पदा संरक्षणअन्तर्गत कुवा, पोखरी तथा ताल संरक्षणका लागि योजना बनाएको छ, यसलाई अभियान नै बनाएर लाग्ने भन्ने छ, गत वर्ष केही बजेट विनियोजन भएको थियो, त्यसबाट एक दर्जन बढी पोखरी निर्माण भएका छन्, आगामी वर्ष पनि बजेट व्यवस्थापन गरेर संरक्षणमा लाग्ने छौँ।' रासस


प्रकाशित : बिहीबार , माघ १९ २०७९०४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend