बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १३ २०७९
images
मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

आयोजना सुरु भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ। आयोजनाले सामाजिक विकास, भौतिक विकासलगायत क्षेत्रमा लगानी गरिरहेको छ।

images
images

काठमाडौं- मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ। खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए। 

images
images
images

उनका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लाउने उनले बताए। प्रवक्ता पौडेलले भने, 'मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ। लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ।'

images
images

राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र सङ्घलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो।

images
images

राजस्व निर्धारण गर्ने विषय ऐनमा प्रष्ट उल्लेख भएकाले सोही आयोगले लागू गर्ने प्रवक्ता पौडेलले बताए। उनका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी ल्याइएको र  त्यसबापतको रकम सम्बन्धित पक्षले पाउनेछ। भविष्यमा दैनिक ५१ करोड लिटर पानी आएपछि त्यसको पनि भुक्तानी दिइने छ। दातृ निकायबाट सञ्चालित आयोजनामा लाभको केही भाग स्थानीयस्तरमा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

खानेपानी आयोजना बन्दा स्थानीय क्षेत्रको पनि लाभ होस् र जलाधार क्षेत्रको पनि संरक्षणको मान्यता राखिएको  र सोही आधारमा लेबी उपलब्ध गराइने उनले बताए। 

मेलम्ची खानेपानी आयोजनामा स्थानीयस्तरमा दिइने लेबीका लागि बनाइएको खाका स्वीकृतिको क्रममा रहेको उनले बताए। आयोजना सम्पन्न भएर पानी पूरै ५१ करोड लिटर आएपछि खुद नाफाबाट केही रकम दिइने प्रवक्ता पन्तले बताए। अझै आयोजना सम्पन्न भइनसकेर निर्माण काम भइरहेको छ। 

आयोजना सुरु भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ। आयोजनाले सामाजिक विकास, भौतिक विकासलगायत क्षेत्रमा लगानी गरिरहेको छ। अहिले मेलम्ची नदीबाट मात्रै पानी ल्याइएकामा आयोजना सम्पन्न हुँदा लार्के र याङ्ग्री नदीबाटसमेत पानी काठमाडौं ल्याइने भएको छ। आयोजनास्थल हेलम्बु गाउँपालिकामा पर्छ भने मेलम्ची खानेपानी विकास समितिको कार्यालय मेलम्चीमा रहेको छ। 

वर्षायाममा बन्द गरिएको उक्त आयोजनाको खानेपानी वितरण गत मङ्सिर २३ गतेदेखि पुनः सुरु भएको थियो। अहिले आएको पानी झण्डै छ महिनासम्म वितरण गर्न सकिने आयोजनाले बताउँदै आएको छ। 

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो। विसं २०७८ असार १ मा मेलम्ची खोलामा आएको बाढीका कारण त्यो वर्ष लामो समय पानी वितरण हुनसकेको थिएन।

मर्मत गरेर पहिलो पटक वितरण गरिएको झण्डै एक वर्षपछि गतवर्ष चैतमा दोस्रोपटक पानी वितरण गरिएको थियो। वर्षा सुरु भएसँगै सुरुङमा क्षति नपुगोस् भनी बन्द गरिएकोमा वर्षा सकिएपछि अहिले पुनः वितरण भइरहेको छ। तटीय क्षेत्रमा सुधारका काम नगरेसम्म वर्षमा पानी ल्याउन सकिने अवस्था नभएको समितिले बताउँदै आएको छ। रासस


प्रकाशित : बुधबार, पुस १३ २०७९०९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend