बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

जडीबुटीको व्यापारबाट चलेको जीविका

images
बिहीबार , मंसिर २२ २०७९
images
जडीबुटीको व्यापारबाट चलेको जीविका

घर खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दै आएको उनको भनाइ रहेको छ। उनी भन्छन्, 'जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ।' 

images
images

कञ्चनपुर- कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
 
झोला बोकेर हिँड्नु उनका लागि रहर नभएर बाध्यता छ। पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन्। 'हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थे', उनले भने, 'कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु।'

images
images
images

भारतमा हुँदा उनले दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्थे। भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उनको कमाइ घटेको छ। दैनिक उनले हाल पाँच सयदेखि एक हजार रुपैयाँसम्म मात्रै कमाइ गर्दै आएका छन्। 

images
images

'व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन', उनले भने, 'व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन।' आज कमाइ भएन भनेर मन मार्नु हुँदैन, ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सके, मन जित्न सके व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गर्नुपर्ने उनले बताए। 

images
images

जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर रोकायाले बेच्दै आएका छन्। जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उनी बताउँछन्। 'जडीबुटीकै व्यापारबाट दुई जना छोराललाई पढाउँदै छु', उनले भने, 'दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ।'
 
घर खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दै आएको उनको भनाइ रहेको छ। उनी भन्छन्, 'जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ।' 
 
राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न छन्। पहिला मनविरेले भारतमा काम गर्थे। भारतमा कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के। त्यसपछि भारततर्फ जान सकेका छैनन्।

उनले रोकायाजस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन्। 'केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछु', उनले भने, 'केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु, यसबाटै परिवारको खर्च चलेको छ।'
 
भारतमा जडीबुटी यसैगरी बेच्दा तीस हजार रुपैयाँ जति महिनाको कमाइ हुने गरेको थियो। यहाँ जडीबुटीको व्यापारबाट मासिकरुपमा २५ हजार रुपैयाँ जति कमाइ हुने गरेको छ। दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उनी निर्धक्कसँग बताउँछन्।
 
'दुवै छोरालाई १२ कक्षासम्म पढाए रोजगार मिलेन', उनले भने, 'छोराहरूले मैलेजस्तै कम्बललगायतका न्यानो कपडा बजार बजार घुमेर बेच्ने गरेका छन्, त्यसबाट केही कमाइ हुन्छ, परिवार चलाउन त्यै भएर सहज भएको छ।' जडीबुटीकै व्यापारबाट लुहारले कैलालीको बर्दगोरिया गाउँपालिकामा डेढ कट्टा जग्गा जोडेका छन्। 

पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईका जिल्ला पुगेर व्यापार गर्नेको सङ्ख्या निकै रहेको छ। हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटरलगायतका न्यानो कपडाको व्यापार गर्छन्।
 
हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना सुरु हुनै लाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कने गरेका छन्। गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन्। पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दै आएको छ।

बूढापाकाले परम्परागतरुपमा गर्दै आएको व्यापारको कार्यलाई थाति राखे पनि युवाले भने पिठ्युमा भारी बोकेर गाउँ सहर चहार्दै गर्दै आएको व्यापार गर्न नरुचाउने गरेका छन्। युवा अरु व्यापार र सरकारी नोकरीमा आकर्षित भएका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend