काठमाडौं- गाडी, रक्सी र मोबाइलको आयातमा आठ महिनादेखिको आयात प्रतिबन्ध खुल्ने भएको छ।
मन्त्रपरिषदले पुस महिनादेखि लागु हुनेगरि प्रतिबन्धित वस्तुको आयात खुला गर्ने निर्णय गरेको हो। २०७९ सालको वैशाखदेखि आयात प्रतिबन्ध लगाएको सरकारले सूचीलाई खुकुलो बनाउँदै आएको थियो।
सुरुमा धेरै वस्तुको आयातमा प्रतिबन्ध लगाएपनि अन्तिमसम्म चार वस्तुको आयात रोकिएको थियो। सरकारले अन्तिमसम्म १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल, डिजेल पेट्रोलबाट चल्ने कारको आयातमा प्रतिबन्ध लगाएको थियो।
त्यस्तै तीन सय अमेरिकी डलरभन्दा महँगो मूल्यका मोबाइल र मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो। अहिले लागेका सबै प्रकारका वस्तुको आयात प्रतिबन्ध फुकुवा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। 'अर्काे निर्णय नभएसम्मका लागि सहज आयात गर्न पाउने छन्, मन्त्री बडूले भने, 'विगतमा केही समस्या आएपछि राेकिएकाे अहिले परिस्थिति सहज बन्दै गएकाेले फुकुवा गरियाे।'
आयात प्रतिबन्ध निरन्तर भएपछि एकातिर सरकारी राजस्वमा गिरावट आइरहेको छ भने अर्कोतिर व्यवसायी पनि थला परेका छन्। व्यवसाय सुकेपछि टाट पल्टिने अवस्था आएको भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन घोषणा गरेर सडकमै उत्रिएका थिए।