शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निर्वाचित भएसँगै संसदीय दलको नेताका लागि गगनले सुरु गरे तयारी, बन्लान् प्रधानमन्त्री?

मंगलबार, मंसिर ६ २०७९
निर्वाचित भएसँगै संसदीय दलको नेताका लागि गगनले सुरु गरे तयारी, बन्लान् प्रधानमन्त्री?

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फराकिलो मतान्तरले विजयी भएसँगै संसदीय दलको नेतृत्वको तयारीमा लागेका छन्। 

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याए। उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ। जहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो। 

काठमाडौं-४ मा दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ। २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका थिए। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए। थापा त्यसअघि २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।

यसपटक भने थापा प्रधानमन्त्रीका लागि संसदीय दलमा सभापति शेरबहादुर देउवासँग भिड्ने घोषणसहित चुनावी दौडमा होमिएका थिए। संसदीय दलको चुनावसँगै प्रधानमन्त्री बन्नका लागि पनि त्यति सहज भने छैन। नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएसँगै सरकार गठनमा ठूलै अलमल हुने निश्चित देखिन्छ। 

विजयी भएसँगै उत्सव मनाउन भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले अब नेपाली जनताले स्थिर सरकार मात्रै नखोजेर नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए। नयाँ चालक पनि नेपाली काँग्रेसले दिन सक्ने बताउँदै आफू नै दौडमा रहेको प्रष्ट संकेत समेत गरेका छन्। ‘निर्वाचित उम्मेदवारले अब पार्टीभन्दा पनि जनताले दिएको म्याडेन्डटलाई सर्वोपरी मान्नै पर्छ,’ थापाले भने। नयाँ नेतृत्वले पार्टी र मुलुकको नयाँ भविष्यको रेखा कोर्नेमा समेत विश्वास रहेको उनले बताए। ‘म आजैबाट संसदीय दलको निर्वाचनमा होमिएको छु,’ थापाले भने। 

कांग्रसले हालसम्म ४ सिटमा जित हात पारेको छ। काठमाडौं-१ बाट नेता प्रकाशमान सिंह निर्वाचित भएका छन्। यसैगरी मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभाका लागि जित निकालेका छन्। मुस्ताङमा कांग्रेसकै कान्छा युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। काँग्रेसले हाल मतगणना भइरहेका क्षेत्र मध्ये ४६ स्थानमा अग्रता लिइरहेको छ। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend