काठमाडौं- संघीय राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। उनका अनुसार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ।
प्रजीअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको प्रजिअ उपाध्यायले बताए। काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य सडक चोक सुनसान बनेको छ। दैनिक सवारी साधन आवागमनले भीडभाड र व्यस्त रहने उपत्यकाका सडक आज बिहानैदेखि खालि छन्। अत्यावश्यक कामकाजी सर्वसाधारण वैकल्पिक माध्यमबाट गन्तव्यतिर गइरहेका देखिन्छन्।
काठमाडौंको कोटेश्वर, महाराजगञ्ज, बालाजु, कलंकी, कालीमाटी, थापाथली, नयाँबानेश्वरलगायत व्यस्त सडक सुनसान छन्। भक्तपुर र ललितपुरका सडक पनि सुनसान छन्। पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा होल्डिङ सेन्टर बनाएर राखेको छ। भद्रकाली, कोटेश्वर, कलंकीलगायत मुख्य चोकमा बिनापासका उल्लेख्य सङ्ख्यामा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ।
निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएपछि उपत्यका सुनसान बनेको हो। सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको थियो। निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनमात्रै सञ्चालन भइरहेका छन्।
मतदानका आज बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द हुनेछ। प्रेस, खानेपानी, विद्युत, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन्। रासस