बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

गाउँमा नै विशेषज्ञ उपचार सेवा

images
शनिबार, मंसिर ३ २०७९
images
गाउँमा नै विशेषज्ञ उपचार सेवा

विशेषज्ञ सेवामार्फत गाउँमा नै चालु आर्थिक वर्षमा झन्डै दुई हजार नागरिकलाई मोतियाविन्दुको उपचार, गर्भवती सेवा, दन्त रोगको उपचार सेवा, दम रोग, छाला रोग, अन्य जटिल प्रकारका शल्यक्रियालगायतका सेवा दिएको नगर अस्पतालका प्रमुख न्यौपानेले बताए।

images
images

मान्म- कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन्। कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको नगर अस्पताल र तिलागुफा नगरपालिकाकोे नगर अस्पतालले गाउँमा नै विशेषज्ञ सेवा दिन थालेका हुन्। 

images
images
images

रास्कोट नगर अस्पताल र तिलागुफा नगर अस्पतालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालीकोट र विशेषज्ञ सेवा दिने अन्य अस्पतालको सहयोगमा नगरपालिकाको स्वास्थ्य सेवा कार्यक्रमको आयोजनामा गाउँगाउँमा विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन्। 

images
images

रास्कोट नगरपालिकाले ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत विभिन्न अस्पतालको सहयोगमा गाउँमा नै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने गरेको छ भने तिलागुफा नगरपालिकाले ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ कार्यक्रम सञ्चालन गरेर स्वास्थ्य सेवा दिँदै आएका छन्। ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत गाउँगाउँमा स्वास्थ्य परीक्षण, बैंकमार्फत घरघरमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम, साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत घरघरमा आयोडिनयुक्त नुन वितरण, कृषि सेवा, पशु सेवा र आयुर्वेद सेवामार्फत उपचार दिँदै आएको छ। 

images
images

रास्कोट नगरपालिकाले प्रत्येक तीन महिनामा विशेषज्ञ सेवासहित हरेक टोल तथा गाउँमा नागरिकको स्वास्थ्य परीक्षणका ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत भिडियो एक्स-रे, गर्भवती जाँच, क्षयरोग जाँच तथा उपचार, मधुमेह, रक्तचापलगायतका रोगको उपचार र औषधी वितरण गर्ने गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिए। 'हामीले देशका प्रतिष्ठित अस्पतालसँगको सहकार्यमा गाउँमा नै घुम्ती शिविर चलाएर विशेषज्ञसहित उपचार सेवा दिने गरेका छौँ।' 

विशेषज्ञ सेवामार्फत गाउँमा नै चालु आर्थिक वर्षमा झन्डै दुई हजार नागरिकलाई मोतियाविन्दुको उपचार, गर्भवती सेवा, दन्त रोगको उपचार सेवा, दम रोग, छाला रोग, अन्य जटिल प्रकारका शल्यक्रियालगायतका सेवा दिएको नगर अस्पतालका प्रमुख न्यौपानेले बताए। उनले भने, 'नागरिकलाई जटिल रोग लाग्न नदिन पहिलो प्राथमिकता गाउँमा नै विशेषज्ञ उपचार सेवा दिएर रोगको निदान गर्नु हो।'

गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन बस्तीस्तरमा ‘मेयर हेल्थ केयर कार्यक्रम’ मार्फत सेवा सुरुआत गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए। 'वडास्तरमै यस कार्यक्रममार्फत विशेषज्ञसहितको चिकित्सकको टोली परिचालन गरी नागरिकलाई स्वास्थ्य सेवा दिइनेछ', उनले भने, 'आपत्कालीन बिरामीहरु नगर अस्पताल र स्वास्थ्य संस्थामा ल्याउनुपर्छ। नियमित स्वास्थ्य जाँच र थप उपचारका लागि बस्तीमा नै डाक्टरसहितको टोली पुग्ने गर्दछ।'

‘मेयर हेल्थ केयर कार्यक्रम’ जिल्ला अस्पताल कालीकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका देशका अन्य प्रतिष्ठित विशेषज्ञ अस्पतालसँग सहकार्य गरे गाउँमा नै स्वास्थ्य शिविरमार्फत कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख शाहीले जानकारी दिए।  

गत कात्तिक २६ र २७ गते रास्कोट नगरपालिकाका विभिन्न गाउँमा मोतियाविन्दु तथा आँखा उपचार सेवाको शिविर सञ्चालन गरिएको थियो। शिविरमा एक सय ५२ जनाको मोतियाविन्दु तथा आँखाको शल्यक्रिया गरिएको प्रमुख शाहीले बताए। नगरपालिकामा आयोजनामा तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोगमा मोतिविन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको थियो। 

दुवै आँखा दुई वर्षदेखि देख्न छाडेको र अहिले गाउँमा नै शल्यक्रिया गरेर दुवै आँखा देख्न पाउँदा रास्कोट नगरपालिका-२ का ६७ वर्षीय अमनाथ सिम्खाडा निकै खुसी भए। 'मेरो दुवै आँखा देख्न नपाएको दुई वर्ष भयो। उपचारका लागि बाहिर जान सक्ने अवस्था थिएन', उनले भने, 'दुई वर्षपछि यो संसार देख्न पाउँदा निकै खुसी भएको छु।'

स्थानीयवासीले स्वास्थ्य परीक्षणका साथै उपचार पाएपछि नागरिकहरु गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको वडा नं ९ का नानकली तिरुवाले बताए। 'बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति छ', उनले भने, 'हामी गाउँका मान्छे बाहिर उपचार गर्न जान पनि डराउँछौँ।' मेयर-हेल्थ केयर कार्यक्रम नगरपालिका सबै वडामा प्रत्येक महिनामा सञ्चालन गरिने नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए। उनले भने, 'शत्प्रतिशत नागरिकलाई स्वास्थ्यको पहुँच पुर्‍याउने लक्ष्य राखेका छौँ।'

तिलागुफा नगरपालिकाले नगरको स्वास्थ्य सेवा सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलागुफा नगरपालिकाबीच विशेषज्ञ सेवा सञ्चालन गर्नका लागि सम्झौता गरेको छ। प्रतिष्ठानसँगको सहकार्यमा तिलागुफा नगरपालिका-४ को राँचुलीमा रहेको नगर अस्पतालमा नियमित विशेषज्ञ सेवा सुरु भएको र नियमित रुपमा स्वास्थ्य सेवा पाउने गरेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए। 'नगरवासीले उपचारका लागि टाढा नगइ घर नजिकै उपचार पाउने सुनिश्चित गरिएको छ', उनले भने, 'हामीले नगरमा नै स्वास्थ्यको विशेषज्ञ सेवा नगरपालिकामा नै उपलब्ध गराउने गरेका छौँ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य तथा सातौँ सभाले निर्णय गरी निर्देशन गरेअनुसार कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए। 'नगरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने गरेका छौँ', उनले भने, 'प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एक पटक विशेषज्ञ चिकित्सकद्वारा शिविर सञ्चालन हुनेछ।'

नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन भएको नगर उपप्रमुख शाहीले जानकारी दिए। 'प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलि-मेडिसिन सेवा सञ्चालन गरेका छौँ', उनले भने, 'नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।'

यता तिलागुफा नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट दिने गरेको छ। नगरपालिकाको पहिलो निर्णयमा नै नगरवासीको स्वास्थ्य बीमा गर्दा लाग्ने रकमको ५० प्रतिशत छुट दिने र बिरामीलाई अन्यन्त्र उपचारका लागि लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने रहेको छ। 

नगरपालिकाभित्रका गर्भवती तथा सुकेरी र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए। 'स्थानीय सरकारको अनुभूति गराउनका लागि हामीले स्वास्थ्य बीमामा छुट, निःशुल्क एम्बुलेन्स सेवा र गाउँमा नै स्वास्थ्यको विशेषज्ञ सेवा सञ्चालन गर्ने गरेका छौँ', उनले भने, 'नागरिकको स्वास्थ्यभन्दा अरू कुनै ठूलो हैन भन्ने हाम्रो लक्ष्य रहेको छ।'

हामीले गाउँगाउँमा गएर स्वास्थ्य शिविर तथा गाउँमा नै उपचार सेवा दिन थालेको नगर अस्पताल राँचुलीका प्रमुख डा टंक आचार्यले जानकारी दिए। 'नगरपालिकामा नै हामीले सक्ने जति विशेषज्ञ सेवा दिने गरेका छौँ', उनले भने, 'जटिल प्रकारका बिरामीको मात्रै अन्यन्त्र उपचारका लागि पठाउने गरिएको छ।'

हालसम्म नगर अस्पतालबाट गर्भवती, दन्त, हाडजोर्नी, छाला, दमलगायतका अन्य बिरामीको उपचार गर्ने गरिएको चालु आवमा दुई हजार एक सयजनाले उपचार लिएको डा आचार्यले बताए। 'यहाँ सबै प्रकारका सेवा दिने गरेका छौँ। जनशक्ति कम भएका कारणले अलि समस्या रहेको छ', उनले भने, 'अन्यन्तै जटिल प्रकारको उपचार पहिलो चरणमा गाउँमा नै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिएका छौँ।'

नागरिकलाई स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नका लागि नगर अस्पताल राँचुलीबाट ल्याब सेवा सञ्चालन गरिएको नगरपालिकाका ल्याब असिस्टेन्ट विमल बुढाले बताए। 'हामीले ल्याब सेवा सञ्चालन गरेका छौँ। सङ्क्रात्मक रोग, गर्भवतीको जाँच, सरुवा रोग, मलेरिया, क्षयरोग, मिर्गौला, रगत जाँचलगायतका विभिन्न प्रकार ल्याबको जाँच गर्ने गरेका छौँ', उनले भने, 'दुर्गममा रहेका अस्पतालबाट नागरिकले राम्रो सेवा पाऊन् भन्ने हाम्रो लक्ष्य रहेको छ।' रासस


प्रकाशित : शनिबार, मंसिर ३ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend