शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

बुधबार, कात्तिक ३० २०७९
रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहोर्‍याउने विश्वासमा छन्। 'मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छु', शाहले भने।  

रुपन्देही- बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ। यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन्। 

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहोर्‍याउने रणनीतिका साथ चुनावी मैदानमा खटिएका छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बनेका छन्। तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक संघीय संसद्को उम्मेदवार बनाएको हो।

'यो क्षेत्रका लागि शाह परिचित अनुहार हो। तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आंकलन गर्न सक्ने अवस्था छैन। कडा प्रतिस्पर्धा हुन्छ', स्थानीय समाजसेवी विष्णु बस्याल भने।  

कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गरेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गरेका थिए। त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित भएका थिए। 

यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहोर्‍याउने विश्वासमा छन्। 'मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छु', शाहले भने।  

प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट ५ (१) मा भूमिश्वर ढकाल र ५(२) मा रामचन्द्र यादव तथा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा विनोद पहाडी र २ मा फखरुद्दिन खान चुनावी मैदानमा उत्रिएका छन्। एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन्। यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो। पडाडी संविधानसभाका सदस्य भइसका हुन् भने खान यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भीष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा छन्। यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका-५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका-१ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिका-१ पर्दछ। रासस


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend