शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

मंगलबार, कात्तिक २९ २०७९
विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे।

नवलपरासी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन्। 

नवलपरासी विकासमा धेरैपछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए। पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाटीं निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे।

संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे। चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै देउवाले नवलपरासी पश्चिमका मतदातालाइ भने, 'तपाइहरू विनोद चौधरीलाइ जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउछौं।'

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्धजस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे। ‘मंसीर ४ मा जनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ। जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ।’

उनले भने, ‘मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन्।' कार्यक्रममा बोल्दै प्रचण्डले बिनोद चौधरीको विजय यो क्षेत्रको बिकासको कोषेढुंगा सावित हुने बताए। चौधरीको उम्मेद्बारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो विजय गराउनु होस अरु आफुहरुले गर्ने उनले बताए।

सोही कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आफुले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। २५ वर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए।


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend