बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

राजधानीको विकट कुनो : विकासको पर्खाइमा नाङ्‍लेभारे

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २७ २०७९
images
राजधानीको विकट कुनो : विकासको पर्खाइमा नाङ्‍लेभारे

यहाँका मतदाताले नेताका बोलीमा विश्वास गर्ने आधार बन्न सकेको छैन। यसअघिका नेताले पनि बोलेका कुरा पूरा गर्न सकेका छैनन्।

images
images

काठमाडौं- विकासका दृष्टिले राजधानी काठमाडौं सुविधासम्पन्न मानिन्छ। स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्रको दरबारमार्ग देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ। दुईवटा पाँचतारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हरसमय गुञ्जायमान भइरहन्छ। 

images
images
images

तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ। यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन। 

images
images

राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो। यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। 

images
images

हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गरे। तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन। किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन।

शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ। र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सकेकी छैनन्।  

'चुनाव हो मत त दिउँला तर जितेपछि यो गाउँमा फर्केर कोही आउँदैनन', तामाङले भनिन् 'अघिल्लो चुनावमा ‘एक घर एक धारा’को नारा धेरैले लगाउनु भयो, तर अहिले एउटा धाराको पानीले २० घर धान्नु परेको छ।'

तामाङको जस्तै समस्या निर्मला शिवभक्तिले पनि भोगेकी छिन्। तर उनी अझै आशावादी भने छिज्। 'हामी जस्ता गरिबका लागि उपचार गर्न गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि शिक्षा भए पुग्ने थियो, हेरौँ अब यसपाली केही भइपो हाल्छ कि ?', उनले भनिन्। 

विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन्। ती चुनावी भाषणमा मात्रै सीमित भए। तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी देखिन्छन्। 'पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि', ७२ वर्षे ढकालले भने।

चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुगेकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा गरिन्। 'मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु।'

नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिइन्। 

तर ६८ वर्षे मेघप्रसाद दङ्गाललाई भने उम्मेदवारको प्रतिबद्धताप्रति पटक्कै विश्वास छैन। 'जो उम्मेदवार आए पनि आश्वासन र भ्रम मात्रै फैलाउने हुन् काम गर्ने होइनन्,' उनले भने, 'अब यी कुरामा मलाई विश्वास लाग्न छाड्यो।'

यो क्षेत्रका मतदाताको एउटै शर्त छ, अब हामीमाथि धोका नहोस्। स्थानीय शम्भुप्रसाद ढकाल निर्वाचनमा कसैलाई मत दिन मन नभएपछि मताधिकार भने गर्ने बताए। 'चुनावमा भोट माग्न गाडीको लस्करले धुलो उडाएका छन्, तर यो सडकमा कालोपत्रे गर्ने विषयमा कसैको ध्यान छैन', उनले भने, 'नेताहरुले वेवास्ता गरेको देख्दा भोट नहालौँ भन्ने लाग्छ तर के गर्नु मताधिकार प्रयोग गर्नैपर्‍यो।'

स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताए। 

नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताइन्। 

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गरे।

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताए। नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन्। रासस


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend