शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनसरी ४ : चुनाव जित्ने आत्मविश्वासमा पूर्वअर्थमन्त्री कार्की

आइतबार, कात्तिक २७ २०७९
सुनसरी ४ : चुनाव जित्ने आत्मविश्वासमा पूर्वअर्थमन्त्री कार्की

काठमाडौं- गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए। तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका थिए। कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट यसपटक पनि उम्मेद्‍वारी दिएका छन्। क्षेत्रमा दोस्रो पटक चुनाव लडेका कार्कीसँग एमालेका उम्मेद्‍वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन्। 

सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८, रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन्। जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो। सोही कारण पनि कार्की उत्साहित छन्। ‘मैले पाँच वर्षमा विकासका धेरै कामसमेत अगाडि बढाएकोले जनता मेरो पक्षमा रहेका छन्,’ कार्कीले भने। 

gyane karki.jpg

सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ। विगतमा बाम गठबन्धनलाई समेत तोडेर चुनाव जितेकाले यसपटक झनै सजिलो चुनाव जित्नेमा कार्की ढुक्क देखिन्छन्। 

स्थानीय जनता र मतदातामाझ चिनिएका उनी दोस्रो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन्। ‘म क्षेत्रका लागि मात्रै नभएर समग्र मुलुकको विकासमा केन्द्रित हुने मान्छे हुँ, आफ्नो क्षेत्रमा स्वभाविक रुपमा काम गर्ने नै छु,’ कार्कीले भने। 

मुख्य प्रतिस्पर्धी देखिएका एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा काँग्रेस प्रवेश गरेपछि मन्त्री कार्की झनै उत्साहित छन्।  केही दिनअघि हरिनगरको घुस्कीमा दुई सय ५० जना, भोक्राहा नरसिंहमा नेकपा एमाले जिल्ला सदस्य रमेश यादवसहित ५० जना भन्दा बढी र कोशीमा १ सय भन्दा बढी चुनावी सभा कार्यक्रमबीच नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

karki gyane.jpg

एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम नेपाली काँग्रेसमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा ज्ञानेन्द्र बहादुर कार्की उत्साहित छन्। ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ, जनताहरू विकास र समृद्धिको पक्षमा देखिएका छन्,’ मन्त्री कार्की भने। 

पाँच वर्षअगाडि जनतासँग गरेका वाचा अधिकांश पूरा गरेको र नयाँ ठूला आयोजना अगाडि सारेकोसमेत कार्की बताउँछन्। जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका वाचा पूरा नगर्ने काम विगतमा भएको उल्लेख गर्दै आफू सधैँ जनताको पक्षमा रहेको दावी कार्कीको छ।

सुनसरीका जनताले कार्कीलाई भावी अर्थमन्त्रीको रुपमा समेत हेरेका छन्। प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका कार्की अर्थमन्त्री बन्ने आत्मविश्वासका साथ चुनावी दौडमा छन्।


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend