शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ललितपुर १ बाट पूर्वअर्थराज्यमन्त्री उदयको पुन: उदाउने चाहना

'पाँचवर्ष संसदबाहिर भएपनि जनताको सेवामा घरभित्रै थिएँ'

शुक्रबार, कात्तिक २५ २०७९
ललितपुर १ बाट पूर्वअर्थराज्यमन्त्री उदयको पुन: उदाउने चाहना

चुनाव जिते पनि हारेपनि राणा ललितपुरका जनतामाझ सधैँ पुग्ने गरेका छन्। पाँच वर्ष संसदबाहिर बसेपनि जनताको सेवा र घरमा जान र जनताका कुरा सुन्न छाडेनन्। ललितपुर जिल्लाको १ नम्बर विकट पहाडी क्षेत्रसमेत पर्ने भएकोले राणा अझै जनतासँग नजिक छन्।

काठमाडौं- ललितपुर-१ मा २०६४ सालदेखि लगातार चुनाव लड्दै आएका पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा एकपटक मात्रै सांसदमा निर्वाचित भएका छन्। २०६४ सालमा माओवादी नेता वर्षमान पुनसँग पराजित भएका राणा २०७० मा निर्वाचित भए। भने २०७४ मा पुन: एमालेका नवराज सिलवालसँग पराजित भए। 

चुनाव जिते पनि हारेपनि राणा ललितपुरका जनतामाझ सधैँ पुग्ने गरेका छन्। पाँच वर्ष संसदबाहिर बसेपनि जनताको सेवा र घरमा जान र जनताका कुरा सुन्न छाडेनन्। ललितपुर जिल्लाको १ नम्बर विकट पहाडी क्षेत्रसमेत पर्ने भएकोले राणा अझै जनतासँग नजिक छन्।

अहिले गठबन्धनबाट काँग्रेसका उम्मेदवार बनेका राणा र एमाले नेता सिलवालसँग २०७९ को प्रतिनिधिसभाको चुनावमा फेरि पनि प्रतिस्पर्धा हुँदैछ। ‘म संसद बाहिर रहेपनि जनताको सेवाबाट टाढा थिइनँ, सोही कारण अहिलेको चुनावमा फेरि मलाई जनताले चाहेका छन्,’ पूर्वअर्थराज्य मन्त्री राणाले भने। चुनाव हार्दा क्षेत्रमा नफर्कने भन्ने आफूले कहिले पनि नसोचेको बताउने राणा यसपटक जित निस्कनेमा ढुक्क जस्तै देखिएका छन्। 

uda 3.jpg

सत्ता गठबन्धनमा आवद्ध दलको मत, स्थानीय तहबाट १० हजारभन्दा बढी मतको अग्रता, एमालेको विभाजन र प्रतिस्पर्धी एमाले उम्मेदवार सिलवालको विवादित छविका कारण राणा बलियो देखिएका छन्। ‘म सम्भवत: चुनाव जित्छु, नजिते पनि जनताको सेवाबाट भाग्ने छैन,’ राणाले भने। 

२०७४ सालमा एमाले र माओवादी मिल्दा चुनाव अंकगणितमा कांग्रेस कमजोर देखिएको थियो। २०६४ को चुनाव जितेको माओवादीले समेत साथ दिने, प्रदेशसभा पनि उसका उम्मेदवार हुने भएपछि यसपटक राणाले सिलवालविरुद्ध बदलाको तरखरमा छन्। ‘बदला भन्दा पनि जनताको विश्वास हो, यो क्षेत्रको विकाससँग म २०६४ सालदेखि सांसद भएपनि नभएपनि जोडिएको छु,’ राणाले भने।

यसपटक कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएर एमालेविरुद्ध उत्रिँदैछन्। यसैले पनि एमालेका सिलवाललाई चुनावी प्रतिस्पर्धा फलामको चिउरासहर भएको छ। २०७० सालमा यही निर्वाचन क्षेत्रबाट राणाले चुनाव जितेका थिए। तर एमाले र माओवादी मिलेर चुनाव लड्दा २०७४ सालमा पूर्वडिआइजी सिलवालले राणालाई ६२२२ मतान्तरले पराजित गरेका थिए। राणाले २०७२९ मत ल्याउँदा सिलवालको २६९५१ मत आएको थियो। 

अघिल्लोपटक एमालेलाई साथ दिएको माओवादी अहिले कांग्रेसको कित्तामा छ। यो क्षेत्रमा २०६४ सालमा माओवादीका वर्षमान पुनले जितेका थिए। अहिले पनि ललितपुर १ मा माओवादीको प्रभाव र संगठन रहेको छ। साथै कांग्रेसको पुरानो पकड र बलियो प्रभाव टोलटोलसम्मै रहेको छ। यसपटक कांग्रेस एकढिक्का हुनु र माओवादीसहितका दलको साथ हुँदा राणाले सहजै चुनाव जित्ने अनुमान गरिएको छ।

ललितपुर क्षेत्र नम्बर १ मा सहरी एरिया, काँठ क्षेत्र र असाध्यै दुर्गम दक्षिण ललितपुरको भूभाग पर्छन्। आफ्नो निर्वाचन क्षेत्रमा घुम्ने, स्थानीयको समस्यासँग साक्षात्कार गरी समाधानमा लागि पर्न पनि राणा अगाडि छन्। ‘म चुनावमात्रै होइन प्रत्येक क्षण जनताका दु:खसँग नजिक छु,’ राणाले भने।

ललितपुर १ का वडाध्यक्षतर्फ ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन मतमा अगाडि देखिएको छ। यो क्षेत्रभित्रका सबै वडाध्यक्षले पाएको मतमा गठबन्धन अगाडि देखिएको हो। वडाध्यक्षतर्फ कांग्रेसले २३८५४ पाएको छ। जुन एमाले एक्लैको भन्दा ५ हजार बढी मत हो। अर्थात् एमालेसँग भिड्न कांग्रेस एक्लै सक्षम देखिएको छ। यस्तोमा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा पनि मिसिंदा सिलवाललाई कठिन र राणालाई निक्कै सहज हुने बताइन्छ। वडाध्यक्षतर्फ माओवादीले ६१३३ र राप्रपाले १७५७ मत पाएका छन् ।

udya 3.jpg

गठबन्धनको मत २९९८७ छ। एमालेको १८९९३ छ। जुन गठबन्धनको भन्दा १०९९४ अर्थात झण्डै ११ हजार मतले पछाडि हो। यसमा राप्रपाको झण्डै दुई हजार मत एमालेतिर खसे पनि सत्ता गठबन्धन अझै ९ हजार मतले अगाडि देखिन्छ। स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका, वागमती, र महांकाल गाउँपालिका जितेपछि कांग्रेस यसपटक उत्साही छ। 

'विकास नै मेरो एजेन्डा'

चुनावको एजेन्डा नै विकास भएको राणा बताउँछन्। बाटोको विकास पहिलो एजेन्डा भएको बताउने राणाले बाटो मात्रै बनेमा अरू धेरै पूर्वाधारको स्वतः विकास हुने दावी गरे। विगतमा बाटो नै नजोडिएकाले २०७० सालमा बाटोलाई प्राथमिकता दिइएको थियो। ‘अब राम्रो बाटो नै योजना हो, पछिल्लो पाँच वर्षमा बाटोको अवस्था खराब भयो भन्ने गुनासो रहेको छ,’ राणाले भने। 

अन्य विषय भनेको खानेपानी ललितपुर–१ मा व्यवसायबाटै रोजगारी सिर्जना गर्ने तथा पर्यटनको विकासमा केन्द्रित रहने राणाको भनाइ छ। अर्थतन्त्रमा सुधार आएर व्यवसाय फस्टाएमा स्वतः रोजगारीको सिर्जना हुने साथै तरकारी खेती, फलफूल, चिया, कफीलगायतको सम्भावना रहेकोले अब यसमै पाँच वर्ष केन्द्रित हुने राणाको भनाइ छ। 

uday 2.jpg

लेले–चन्दनपुर सडक पछिल्लो पाँच वर्षमा भत्किएको र सुधार हुन नसकेको बताउँदै कान्ति लोकपथको स्तरोन्नतिका लागि पनि पाँच वर्षमा काम गर्ने राणाले बताए।  ‘कान्ति लोकपथले ललितपुरबाट हेटौंडा जोड्छ, ललितपुरको भाग विजोग छ,’ राणाले भने। अर्थ समितिमा समेत बसेका राणाले विगतमा सहकारी, बैंकिङ कानून र सार्वजनिक खरिद कानून निर्माणमा विशेष जोड दिएका थिए। 


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend