शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रुपन्देही-२ को चुनावी मैदानमा प्रतिस्पर्धीविहीन पूर्वअर्थमन्त्री पौडेल

बुधबार, कात्तिक २३ २०७९
रुपन्देही-२ को चुनावी मैदानमा प्रतिस्पर्धीविहीन पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं- रुपन्देही-२ मा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल चुनाव जित्ने सहज स्थितिमा देखिएका छन्। सत्ता गठबन्धनको कमजोरीले पौडेललाई जित निकाल्न सहज जस्तै देखिएको छ। 

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनले काँग्रेसका उम्मेदवार नै उठाउने तयारी गरेको थियो। तर एकीकृत समाजवादीले अडान राखेपछि राजु गुरुङलाई उम्मेदवार बनायो। गुरुङलाई उम्मेदवार बनाउने निर्णयमा नै गठबन्धन उत्साहित भएको थियो। तर राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भयो। उम्मेदवारी खारेजीलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो। सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही-२ मा पौडेललाई चुनाव जित्न सहज बनेको छ। 

ठूला दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीतर्फबाट उम्मेदवार नै छैनन्। सोही कारण पनि पूर्वअर्थमन्त्री पौडेल प्रतिस्पर्धीविहीन जस्तै देखिएका छन्। सोही कारण पनि पौडेल जितको नजिक छन्। उक्त क्षेत्रमा अब पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार मात्रै चुनावी मैदानमा छन्। 

पौडेलको प्रतिस्पर्धा साना पार्टीहरूसँग मात्रै भएकोले पनि चुनावी कार्यक्रममा ठूलापार्टीप्रति नरम देखिएका छन्। पौडेल ठूला पार्टीको कार्यकर्ताको भोट तान्ने अभियानमा छन्। ‘मलाई सबैको सद्भाव र माया छ,’ पूर्वअर्थमन्त्री पौडेलले भने। रुपन्देही क्षेत्रमा आफूले विकास र निर्माणमा धेरै काम गरेको र दर्जनौँ योजनाहरू अगाडि सारेकोले जनताले विश्वास गर्ने दाबी पौडेलको छ। 

bishnu paudel chunab (3).JPG

२०७४ सालमा भएको निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४५ मत ल्याएका थिए। गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा बुटवल महानगरको १ देखि १३, तिलोत्तमाको १ देखि ६ र सैनामैनाको १ देखि ४ वटा समावेश रहेको सो निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको आधार कमजोर रहेको देखिन्छ।

१ लाख २८ हजारभन्दा धेरै मतदाता रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आधारलाई हेर्दा भने एमाले सत्तारुढ गठबन्धनभन्दा कमजोर रहेको देखिन्छ। सो निर्वाचन क्षेत्रमा रहेका २३ वटा वडामध्ये कांग्रेसले १४ वटा वडामा, एमालेले ५ वटा वडामा र अन्यले बाँकी वडाको नेतृत्वमा विजयी भएको देखिन्छ। 

bishnu paudel chunab (1).JPG

पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई देशको आर्थिक विकासको केन्द्र बनाउने नारा अगाडि सारेका छन्। ‘नेपालमा १६५ निर्वाचन क्षेत्रमध्ये यो क्षेत्र सबैभन्दा अगाडि रहेको छ, यसैले पनि जनताले विश्वास गर्ने छन्,’ पूर्वअर्थमन्त्री पौडेलले भने।

पछिल्लो पाँच वर्षमा धेरै योजनाहरू अगाडि सारेकोले पनि अबको पाँच वर्षपछि यो क्षेत्र आर्थिक केन्द्र बन्ने दाबी पौडेलको छ। जसका कारण यो क्षेत्रमा रोजगारी र जनताको जीवनस्तर सुधारमा मुख्य भूमिका खेल्ने पौडेलले बताए। 

अर्थमन्त्री हुँदा आर्थिक सूचकको साथ

पौडेल पहिलोपटक अर्थमन्त्री हुँदा सेयर बजारले १८ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। तत्कालीन समयमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री थिए। 

दोस्रोपटक अर्थमन्त्री हुँदा पनि सेयर बजार ३१९९ को उच्च बिन्दुमा पुगेको थियो। २२ अर्ब रुपैयाँसम्म कारोबार पुगेको थियो। अहिले लगातार घटेर बजार १९०० को बिन्दु वरपर घुमिरहेको छ। यसैले पनि उनको समयमा बजारलाई साथ मिलेको भन्दै पौडेलप्रति सेयर बजारका लगानीकर्ता नरम हुने गरेका छन्। 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend