शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चुनावदेखि चुनावसम्मको लोकतन्त्रले जनतामा उकुसमुकुस बनायो : स्वर्णिम वाग्ले 

शनिबार, कात्तिक १९ २०७९
चुनावदेखि चुनावसम्मको लोकतन्त्रले जनतामा उकुसमुकुस बनायो :  स्वर्णिम वाग्ले 

नेपाली कांग्रेसको घोषणापत्र अनुसार सबै नेताहरू हिड्दा मात्र धेरै समस्याको समाधान हुने र त्यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ। बदिलिँदो समयमा कांग्रेसले लिने विकासदेखि सुशासनका एजेन्डा कस्ता हुनुपर्छ भनेर घोषणापत्रमा लेखिएको उनको भनाइ छ। 

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले फेरि पनि आर्थिक सुधारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले २०४७ सालमा नेपाली कांग्रेसले सुरु गरेको आर्थिक सुधारमै टेकेर फेरि व्यापक सुधारको समय आएको र यसको नेतृत्व फेरि पनि कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ। 

नेपाली कांग्रेसको घोषणापत्रले यस्तो सुधार कस्तो हुनुपर्छ, केके सुधार गर्ने भनेर स्पष्ट उल्लेख गरेको बताउँदै आधुनिक अर्थतन्त्र निर्माणको मुलमन्त्र सबैले याद राख्नुपर्ने वाग्लेको भनाइ छ। 

काठमाडौं क्षेत्र नम्बर पाँचमा नेपाली कांग्रेसका उम्मेद्वारहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले यस्तै सुधारको राजनीतिक नेतृत्व गर्ने क्षमता र योग्यता भएका नेता प्रदीप पौडेललाई शुभकामना दिए। 

काठमाडौं क्षेत्र नम्बर पाँच मात्र नभएर देशकै लागि योगदान गर्नसक्ने क्षमता भएका पौडेललाई जिताउन उनले मतदाता समक्षा आग्रह गरेका थिए। 

नेपाली कांग्रेसको घोषणापत्र मस्यौता उपसमितिका संयोजक भएर काम गरेका वाग्ले पछिल्लो समय देशव्यापी चुनावी प्रचारमा खटिएका छन्। चुनाव लड्नका लागि टिकटका लागि प्रतिस्पर्धामा रहेपनि अन्तिममा आएर पार्टी  टिकट नदिएपनि वाग्ले कांग्रेस उम्मेद्वारको पक्षमा भोट माग्न देशभर जाने योजनामा छन्। 

यो चुनावको परिप्रेक्ष पहिलेजस्तो नभएको वाग्लेको भनाइ छ। अहिलेसम्मको राजनीतिक प्रवृत्ति, सरकारको काम कारबाहीले जनतामा व्यापक असन्तुष्टि रहेको र यस्तो समयमा आउने नेतृत्वले यो कुरा बुझ्न आवश्यक रहेको उनको भनाइ छ। 

'पहिलेजस्तो छैन समय। देशमा मध्यमवर्गको उदय तीव्र छ। यही वर्गमा चरम उकुसमुकुस पनि छ। यो उकुसमुकुस विस्फोट हुनबाट रोक्नका लागि अब आउने जनप्रतिनिधिले विशेष पहल गर्नुपर्छ' उनले भने। 

जनतामा उकुसमुकुस बढ्नुको मुख्य कारण भनेको लोकतान्त्रको अर्थपूर्ण प्रयोग नहुनु उनको भनाइ छ। चुनावलाई मात्र लोकतन्त्रको नाम दिएर अहिलेसम्मको राजनीतिक प्रवृत्तिले कर्मकान्ड मात्र बनाएकाले जनतामा व्यापक असन्तुष्टि बढेको उनको विश्लेषण छ। 

'अहिलेसम्म एउटा चुनाव गरियो अनि लोकतन्त्र भनेको यही भन्ने राजनीति भयो। तर चुनाव बाहेकका शक्ति पृथ्थकीकरण, समतामूलक शासन पद्धति, भ्रष्टाचार रोक्ने कुरा राजनीतिको केन्द्रमा परेनन्। यसले गर्दा एउटा चुनावदेखि अर्को चुनावसम्म मात्र लोकतन्त्र सीमित भयो। यही कारणले जनतामा व्यापक वितृष्णा छ' वाग्लेले भने,' प्रदीप पौडेल जस्ता नेताहरुलाई मैले निरन्तर आग्रह यही गरेको छु कि यस्ता कुरालाई पनि एजेन्ड बनाएर जानुहोस।' 

नेपाली कांग्रेसको घोषणापत्र अनुसार सबै नेताहरू हिड्दा मात्र धेरै समस्याको समाधान हुने र त्यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ। बदिलिँदो समयमा कांग्रेसले लिने विकासदेखि सुशासनका एजेन्डा कस्ता हुनुपर्छ भनेर घोषणापत्रमा लेखिएको उनको भनाइ छ। 

कार्यक्रममा कांग्रेस नेता तथा काठमाडौं ५ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार प्रदीप पौडेलले अहिलेसम्मको राजनीतिले जनतालाई सामान्य डेलिभरी पनि नदिएकाले व्यापक असन्तुष्टि रहेको आफूले पनि पाएको बताए। 

आफूले सामान्य विधि र नियम अनुसार जनताले पाउनुपर्ने सुविधाका एजेन्डालाई प्राथमिकता दिने बताए। 

'जनताको धेरै ठूलो माग छैन। तर अहिलेसम्मको हाम्रो राजनीतिकले संविधान, कानून र नियम अनुसार पाउनुपर्ने सुविधा र अधिकारको माग छ। यही कुरा मात्र पूरा भएमा जनतामा धेरै खुसी आउँछ' पौडेलले भने। 

 


प्रकाशित : शनिबार, कात्तिक १९ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend