सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

गत वर्षको भन्दा न्यून पेट्रोलियम पदार्थ आउँदा पनि १८ अर्बले बढ्यो आयात

खाद्यन्न, औषधिकै आयात घट्यो 

आइतबार, कात्तिक १३ २०७९
गत वर्षको भन्दा न्यून पेट्रोलियम पदार्थ आउँदा पनि १८ अर्बले बढ्यो आयात

यो वर्ष अधिकांश वस्तुको आयात मूल्यवृद्धिका कारणले बढेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनामा अन्तर्राष्ट्रिय व्यापारमा आयात र निर्यात घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा आयात १६ प्रतिशतले घटेको छ। यही अवधिमा गत वर्षको तुलनामा निर्यात ३५ प्रतिशतले न्यून भएको छ। 

आयात निर्यातसँगै व्यापार घाटा पनि १३ प्रतिशतले घटेको छ। चालु वर्षको तीन महिनामा कूल ४ खर्ब ९९ करोड रुपैयाँको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको थियो। निर्यातपनि गत वर्षकोभन्दा २४ अर्बले न्यून भएको छ।  

चालु वर्षको तीन महिनामा अधिकांस वस्तुको आयातमा गिरावट आएको छ। यद्यपि मुख्य वस्तुको मूल्यवृद्धिका कारणले बाहिरिने रकम भने बढेको छ। 

विभागका अनुसार गएको वर्षको तुलनामा डिजेल पेट्रोलको आयात घटेको छ। तर आयातका लागि बाहिरिने रकम भने बढेको छ। गत वर्षकोभन्दा न्यून डिजेल पेट्रल आयात हुँदा पनि रकम भने बढेको छ। 

गत वर्षकोभन्दा १ लाख किलोलिटर न्यून डिजेल आयात हुँदा पनि बाहरिने रकम भने गत वर्षकोभन्दा ६ अर्बले बढेको छ। गत वर्ष ३ लाख ३२ हजार किलोलिटर डिजेल आयात भएकोमा यो वर्ष जम्मा २ लाख २५ हजार लिटर डिजेल आयात भएको छ। मूल्यमा भने गत वर्ष जम्मा २३ अर्बको डिजेल आयात भएको थियो यो वर्ष २९ अर्ब पुगेको छ। 

त्यस्तै पेट्रोल पनि गत वर्षको तुलनामा ३ हजार किलोलिटर न्यून आयात भएको छ। गत वर्ष १ लाख ७४ हजार लिटर आयात भएकोमा यो वर्ष जम्मा १ लाख ७१ हजारमात्र आयात भएको छ। तर पेट्रोल किन्नका लागि गत वर्ष नेपालले १२ अर्ब खर्चिएको थियो भने यो १८ अर्ब खर्चिएको छ। 

यो वर्षको तीन महिनामा कूल ७८ अर्बको पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्षको यही अवधिमा ६० अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो। 

यो वर्ष अधिकांश वस्तुको आयात मूल्यवृद्धिका कारणले बढेको छ। 

यो वर्ष खाद्यन्न तथा औषधि जस्ता वस्तुकै आयातमा गिरावट आएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यन्न आयात भएको छ। जुन अघिल्लो वर्ष १७ अर्ब ७० करोडको आयात भएको थियो। खाद्यन्नसँगै औषधि आयात पनि गत वर्षको तुलनामा १ अर्बले न्यून भएको छ। गत वर्षको तीन महिनामा १४ अर्बको औषधि आयात भएकोमा यो वर्ष जम्मा १३ अर्बको आयात भएको छ। 

आयात प्रतिबन्धनका कारणले गर्दा सवारी साधानको आयात आधाभन्दा बढीले घटेको छ। गत वर्ष ३४ अर्बको सवारी साधान आयात भएकोमा यो वर्ष जम्मा १५ अर्ब रुपैयाको मात्र आयात भएको छ। 

स्टिल, विद्युतीय उपकरण, तरकारी जस्ता वस्तुको आयात पनि यो अवधिमा घटेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend