शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्वच्छ वातावरणमा कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय सवारी, ऊर्जा किफायती उपकरण प्रबर्द्धन 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १२ २०७९
स्वच्छ वातावरणमा कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय सवारी, ऊर्जा किफायती उपकरण प्रबर्द्धन 

कांग्रेसले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवस्थामा आएमा दीगो र स्वच्छ वातावरण, बलियो र उत्थानशील पर्यावरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

काठमाडौं- मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो संकल्प पत्र(घोषणापत्र) सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको समितिले लेखेको उक्त संकल्प पत्र आज सार्वजनिक गरिएको हो। 

कांग्रेसले आफ्नो पार्टीले निर्वाचन जितेमा गर्ने कामका बारेमा क्षेत्रगत प्राथमिकता निर्धारण गरेको छ। अहिलेसम्मको राजनीतिक घटनाक्रम, कांग्रेसको भूमिका र भविष्यमा कांग्रेसले गर्ने कामका प्रतिवद्धता सहितको यो घोषणापत्रमा जलवायु परिवर्तनको विषयलाई पनि समावेश गरिएको छ। 

कांग्रेसले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवस्थामा आएमा दीगो र स्वच्छ वातावरण, बलियो र उत्थानशील पर्यावरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

सन् २०४५ सम्ममा शून्य कार्बन (नेट जिरो) उत्सर्जन गर्ने राष्ट्र बनाउने सरकारी प्रतिवद्धता अनुसार  वन क्षेत्रको संरक्षण, प्रकृतिमा आधारित पर्यापर्यटन, दिगो कृषि प्रणाली, वनमा आधारित उद्योग व्यवसायको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, स्थानीय सीप र प्रविधिको विकास र स्वच्छ ऊर्जाको सर्वव्यापी उपयोग गर्ने नीतिगत तथा संस्थागत व्यवस्था गरिने कांग्रेसले उल्लेख गरेको छ। 

सन् २०४५ सम्ममा शहरी यातायातमा खनिज ऊर्जाको उपयोग शून्यमा झार्ने, आगामी पाँच वर्षमा कूल सवारीसाधनमा ५० प्रतिशत विद्युतीय सवारी हुने अवस्था ल्याउने कांग्रेसले प्रतिवद्धता व्यक्त गरेको छ। 

हरित र नवीकरणीय ऊर्जा उत्पादन तथा खपतमा जोड दिनका लागि औद्योगिक र घरायसी क्षेत्रमा उपकरण जडानमा जोड दिने र त्यस्ता उपकरण ऊर्जा किफायती हुने कांग्रेसको धारणा छ। कांग्रेसको सरकारले यस्ता क्षेत्रमा उत्प्रेरक कार्यक्रम सञ्चालन गर्ने छ। 

वातावरणीय प्रभाव तथा विपद् जोखिम अध्ययन गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्दै जोखिमयुक्त वस्तीहरूको अध्ययन गरी त्यस्ता वस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर एकीकृत नमूना बस्ती बसाउने, शहरी क्षेत्रमा वृद्धवृद्धा र बालबालिकालाई केन्द्रमा राखेर हरित खुला पार्कहरूको निर्माणमा संघीय सरकारले विशेष कार्यक्रम ल्याउने कांग्रेसले प्रतिवद्धता गरेको छ। 

नेपालमा प्रयोग गरिने करिव ८० प्रतिशत सिसा र धातुलाई रिसाइकल गर्ने, ७५ माइक्रोन भन्दा कमका प्लाष्टिकका ब्याग, झण्डा लगायतका पुनः प्रयोग हुन नसक्ने प्लाष्टिकको आयात, उत्पादन तथा उपभोग आगामी दुई वर्षभित्र बन्द गर्ने कांग्रेसले संकल्प गरेको छ। 

इन्धनका लागि दाउरा, गुइँठा, भुस आदिको खपत गर्ने जनसंख्या ३५ प्रतिशतमा झार्ने, वन क्षेत्रको संरक्षणका लागि ढाकेको क्षेत्र ४७ प्रतिशत पुऱ्याउने तथा करिव ४ हजार जति सिमसार, ताल र पोखरीको विशेष संरक्षण गर्ने कांग्रेसले घोषणा गरेको छ। 


प्रकाशित : शनिबार, कात्तिक १२ २०७९०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend