मंगलबार, जेठ ८ गते २०८१    
images
images

लक्ष्मी समूहले सुरु गर्‍यो हुन्डाईका कार बनाउन, कति घट्छ नेपालमै एसेम्बल भएको कारको मूल्य?

शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेपछि बिक्रीमा आउने

images
बिहीबार , वैशाख २७ २०८१
images
images
लक्ष्मी समूहले सुरु गर्‍यो हुन्डाईका कार बनाउन, कति घट्छ नेपालमै एसेम्बल भएको कारको मूल्य?

नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ।

images
images

काठमाडौं- लक्ष्मी समूहले नेपालमै कार एसेम्बल सुरु गरेको छ। सम्पूर्ण रुपमा परीक्षण उत्पादन सफल भएसँगै आउँदो शनिबार हुन्डाईको एसेम्बल प्लान्ट औपचारिक रुपमा उद्घाटन हुँदैछ। 

images
images
images

एक दशकअघि नै हुलास मोटर्सले नेपालमा मुस्ताङ म्याक्स उत्पादन गरेको थियो तर प्रदूषण मापदण्डका कारण उक्त प्लान्ट बन्द हुन पुगेको थियो। त्यसयता दुईपांग्रेकाआधादर्जन एसेम्बल प्लान्ट सञ्चालनमा आएका छन्। चारपांग्रेमा भने अहिले हुन्डाईले कार एसेम्बल सुरु गरेको हो। 

images

यही बैशाख २९ गते शनिबार लक्ष्मी समूहले प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत एसेम्बल प्लान्टको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

images
images

औपचारिक उद्घाटनपछि नेपालमै एसेम्बल भएको हुन्डाई ब्रान्डका भेन्यू बिक्रीका लागि उपलब्ध हुनेछ। 

images
images

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो। कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादन सकिसकेको छ। 

६ महिनाअघि सुरुमा लक्ष्मी मोटर कर्पोरेसन दुईवटा भेन्यूका सीकेडी परीक्षण उत्पादनका लागि ल्याएको थियो। त्यसपछि ४ महिनाअघि कम्पनीले एकैपटकमा भेन्यू एसेम्बल गर्न एक सयभन्दा बढी सीकेडी किट आयात गरेको थियो। हुन्डाई मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो। त्यसयता ठूलै संख्यामा भेन्यूको सीकेडी आयात भइसकेको छ। 

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरू सरकारले उपलब्ध गराएको छ।

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुट सुविधा दिएपछि लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात गरेको हो। 

लक्ष्मी मोटर कर्पाेरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो। एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्।  

नवलपरासीमा छ प्लान्ट

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ।

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन् तर एसेम्बल गर्ने प्रक्रिया भने सुरु गरेका छैनन्।  

कति घट्छ नेपालमै एसेम्बल भएका भेन्यूको मूल्य?

नेपालमै एसेम्बल भएपछि कारको मूल्य घट्नुपर्ने धेरैलाई लागेको छ, जुन स्वभाविक पनि छ। सरकारले एसेम्बल प्रयोजनका लागि ल्याइने किटमा कर छुटदेखि उद्योगको आयकरमा समेत सहुलियत दिएको छ।

त्यसैले पनि नेपालमै एसेम्बल भएका सवारीको मूल्य तयारी आयातित कारभन्दा कम हुनुपर्ने हो। मोटरसाइकल एसेम्बल गर्नेहरुले सरकारबाट व्यापक छुट पाएको तर उक्त छुट उपभोक्तानमा ट्रान्सफर भएको छैन। कारमा पनि त्यही हुने धेरैको अनुमान छ। 

तर लक्ष्मी समूहले भने नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य तयारी भेन्यू आयातको तुलनामा मूल्य कम हुने दाबी गरेको छ। कम्पनीले भेन्यूको एसेम्बल परीक्षणका क्रममा अनौचारिक रुपमा नेपालमा बनेपछि केही न केही मूल्य कम हुनुपर्ने बताउँदै आएको थियो। 

कम्पनीले नेपालमै एसेम्बल भएको भेन्यूको मूल्य कति कम गर्छ भन्ने शनिबार नै यकिन हुनेछ। त्यसयता मूल्यबारे कम्पनीले केही नबताउने जनाएको छ। 

हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य कम्पनीको वेवसाइटमा राखिएअनुसार २०२४ मोडलको ई१.२ को ४१ लाख  ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य कायम रहेको छ। 

नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ।

माहोल बनाएको तर कार नबनाएको मोट्रेक्स 

कोरियाली कम्पनी मोट्रेक्सले २०७५ चैतमा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोषणा गरेको थियो भने २०७६ मंसिर २५ मा लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरेको थियो। मोट्रेक्सले नेपालमा सवारी एसेम्बल गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो। 

मोट्रेक्सले सुरुमा गरेको प्रस्तावअनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने दाबी गरेको थियो। तर २०२४ सम्म आइपुग्दा विस्तृत अध्ययनको त कुरै छाडौँ एसेम्बल उद्योग कहाँ राख्नेसम्म टुंगो लागेको छैन। लगानी बोर्डले मोट्रेक्सलाई छलफलमा आउन पटक पटक ताकेता गरेपनि नियमित छलफलसमेत हुन सकेको छैन। 

बरु मोट्रेक्सले नेपालमै कार एसेम्बल गर्ने भनेपछि कार आयात गरेर बिक्री गरिरहेका व्यवसायिक घरानाहरुले पनि धमाधम एसेम्बल उद्योग दर्ता गर्न थाले। माहोल बनाएको मोट्रेक्सले आफूले भने अहिलेसम्म सिन्को समेत भाँचेको छैन। तर २०१९ मा बनेको सोही माहोलकै कारण ५ वर्षपछि लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै कार एसेम्बल सुरु गरेको छ। 

पछिल्लो ५/६ वर्षमा दुई दर्जनभन्दा बढी चारपांग्रे सवारी एसेम्बल उद्योग दर्ता भइसकेका छन्। एसेम्बल सुरु गर्नेमा भने लक्ष्मी मोटर कर्पोरेसनमात्र बनेको छ। 

हुन्डाईका कार नेपालमै उत्पादन सुरु गर्दै लक्ष्मी समूह, आइपुग्यो पहिलो ‘सीकेडी पार्ट्स’

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार उत्पादन प्लान्टका लागि माग्यो ११ कर्मचारी

ठूलो संख्यामा आयो भेन्यूको एसेम्बल किट : कहिलेदेखि आउँछ बजारमा, कति पर्छ मूल्य?


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend