मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पश्चिम सेती र एसआर-६ आयोजनामा एउटै 'मोडालिटी' खोजिने

बुधबार, असोज २० २०७८
पश्चिम सेती र एसआर-६ आयोजनामा एउटै 'मोडालिटी' खोजिने

लगानीको ढाँचासमेत तय हुँदै छ। पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो। त्यस्तै बुढी गंगा र पश्चिमसेतीको तल्लो भाग एसआर-६ भने ३०८ मेगावाट क्षमताको रहेको छ। 

काठमाडौं- लगानी बोर्डले पश्चिमका दुई ठूला जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा नयाँ मोडालिटीमा दुई आयोजना एकै साथ अगाडि बढाउनका लागि अध्ययन थालिएको हो।

बोर्डमा बुधबार बसेको बैठकले परियोजनाको ढाँचा तथा त्यसक्षेत्रको विकास ढाँचासमेत तयार पार्ने निर्णय गरेको छ।

‘अब निर्माण मोडालिटिको सम्पूर्ण ढाँचा बनाउने छ, त्यसको अध्ययन अब सुरु गरिएको हो,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टले भने। पश्चिम सेतीबाट दुई वर्ष अगाडि नै चिनियाँ कम्पनी ‘थ्रि गर्जेज’ बाहिरिएपछि कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। ‘यता पश्चिम सेती र एसआर-६ लाई पनि एकै साथ अगाडि बढाउन पनि अध्ययन गरिने छ,’ भट्टले भने। 

अध्ययन समितिमा ऊर्जा सचिव, लगानी बोर्डका सीईओसहित निजी क्षेत्रका समेत प्रतिनिधि रहेका छन्। केही दिन अगाडि मात्रै समितिले दुवै आयोजनाको स्थलगत अध्ययन गरेको थियो। 

समितिले लगानीको ढाँचा समेत तय गर्ने भट्टले जानकारी दिए। पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो। त्यस्तै बुढी गंगा र पश्चिमसेतीको तल्लो भाग एसआर-६ भने ३०८ मेगावाट क्षमताको रहेको छ। 

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजनालाई लिँदै आएको छ। समितिले अध्ययन प्रतिवेदन लगानी बोर्डको बैठकमा पेश गरेपछि कार्यान्वयनको चरणमा जाने छ। आउने बैठकमै पेश गर्नेगरी द्रुत गतिमा आयोजना अगाडि बढाउन लागिएको समेत बोर्डले जानाएको छ। 

बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ। 


प्रकाशित : बुधबार, असोज २० २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend