सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दुई विद्युत् आयोजना अवरुद्ध

आइतबार, असोज २३ २०७९
दुई विद्युत् आयोजना अवरुद्ध

-पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।

काठमाडौं-पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो।

निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिए। निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भने नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिए। उनले वर्षाको कारण विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको बताए। पहिराले नहर जोखिममा पर्दा बित्तिकै बनाउन सुरु गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने बर्ताए। 

‘पहिराले नहर बगाउन थालेदेखि नै काम सुरु गरेका हौँ, तर वर्षाले गर्दा काम गर्न दिएन, तै पनि विद्युत् छिटो सञ्चालनमा ल्याउनका लागि कामदारहरु खटाइराखेका छौँ’, उनले भने, ‘विद्युत् सञ्चालनमा आउन अझै पाँच दिन लाग्न सक्छ, कुना पट्टिबाट नयाँ नहर बनाउनुपर्ने भएको छ, त्यसले गर्दा केही दिन ढिला हुने देखिन्छ।’ 

दुईवटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौँ साना तथा घरेलु उद्योगहरु ठप्प भएका छन्। विद्युत् अवरुद्ध भएपछि दसैँसमेत खल्लो भएको स्थानीयको भनाइ छ। निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जानकारी दिए। 

रासस


प्रकाशित : आइतबार, असोज २३ २०७९०३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend