सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दसैँका यात्रुलाई सडककै सास्ती

खाल्डाखुल्डी सम्याएर सडक दुरूस्त पार्न समेत सडक विभाग असफल

शनिबार, असोज २२ २०७९
दसैँका यात्रुलाई सडककै सास्ती

दसैँमा सबैभन्दा धेरै मानिसहरू उपत्यका बाहिर जाने र अधिकांशले सडकमार्ग नै रोज्ने हुँदा बढी सवारी र यात्रु सडक नै प्रयोग गर्नुपर्छ। तर, राजधानी काठमाडौंबाट बाहिरिने र भित्रिने मुख्य–मुख्य सडकको अवस्था भने दुरूस्त छैन।

काठमाडौं-दसैँ सकिने चरणमा छ। तिहार नजिकिँदै छ। चार दिनदेखि अविरल परेको पानीले सयौं सडकहरु अवरुद्ध हुँदा यात्रुले भने सास्ती व्योहोर्नु परेको छ। काठमाडौंबाट मात्रै १७ लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ। अब विस्तारै उपत्यका फर्किने सुरसारमा रहेका छन्। भारी बर्षाले ग्रामिण सडक मात्रै होइन राजधानी जोड्ने राजमार्गका दर्जनौ स्थानमा पहिरो गएको छ। 

दसैँमा सबैभन्दा धेरै मानिसहरू उपत्यका बाहिर जाने र अधिकांशले सडकमार्ग नै रोज्ने हुँदा बढी सवारी र यात्रु सडक नै प्रयोग गर्नुपर्छ। तर, राजधानी काठमाडौंबाट बाहिरिने र भित्रिने मुख्य–मुख्य सडकको अवस्था भने दुरूस्त छैन। काठमाडौंबाट पश्चिम लाग्ने मुख्य नाका नागढुंगाबाट ओरालो लागेपछिको नौविसे शुरू हुँदादेखि नै यात्रुहरूको यात्रा असहज बन्न थाल्नेछ। सडक विस्तार तथा स्तरोन्नतीका लागि अर्बाैं रूपैयाँमा बन्ने सडक अहिले निर्माणाधिन हुँदा सडकमा खाल्डाखुल्डी प्रशस्त देखिन्छन्।

badi.jpeg

पुर्व–पश्चिम राजमार्गको नारायणगढ – बुटवल सडक खण्ड पनि उस्तै छ। यो राजमार्गमा बढी मानिस तथा सवारीको आवतजावत हुने भए पनि सडक भने चुस्तदुरूस्त छैन। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले पनि यो वर्षको दसैँ र तिहारका लागि सडक चुस्त–दुरूस्त बनाउन नसकिको बताए। ‘खासगरी दशैं नजिक हुँदा र मौसम विभागको सूचना हेर्दा अझै पानी पर्ने अवस्था छ,’ थापाले भने, ‘पानी पर्दा काम गर्न सहज नहुने अवस्था एकातिर छ, भने अर्काेतिर ठूला र साना लागत भएका दुबैखाले सडकमा निर्माण व्यवसायीले राम्रोसँग काम नगर्दा समस्या आयो।’

तर, पहिरोका कारण अवरूद्ध हुने राजमार्गहरूमा भने यातायात सहज गराउने काममा विभाग लागिरहेको बताए। तत्काल खाल्डाखुल्डी सम्याएर सडक दुरूस्त बनाउन सकिने अवस्था नभएको भन्दै उनले पहिरोबाट अवरूद्ध हुने सडक भने सफा गरेर यातायात सुचारू गरिरहेको बताए। यद्यपी सडक टालेर दुरूस्त बनाउन सम्भव नभएको उनले बताए। 

तर, विभागका महानिर्देशक थापाले भने स्वदेशी व्यवसायहरूले लिएका ठेक्काहरूमा वर्षाैं लाग्ने र विदेशी व्यवसायीले पनि समयमै काम नगरिदिँदा चेपुवामा परेको बताए। अहिले राजमार्गका मुख्य–मुख्य खण्डमा सडक विस्तार तथा स्तरोन्नतीको काम अधिकांश विदेशी निर्माण अर्थात् चिनियाँ निर्माण व्यवसायीहरू पाएका छन्। तर, चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको मुख्य नारायणगढ – बुटवल सडक खण्ड नै निर्धारित समयमा सम्पन्न भएको छैन। 

badi 2.jpeg

‘८ अर्ब रूपैयाँदेखि १६ अर्ब रूपैयाँका सडकका ठेक्कामा विदेशी निर्माण व्यवसायी छन्,’ थापाले भने, ‘करोड लगानीका ठेक्कामा स्वदेशी छन्, काम गराइको प्रवृति भने खासै फरक छैन। विदेशीले काम गर्न सकेनन् भने स्वदेशी दशकसम्म सडक जीर्ण बनाएर राखेका छन्।’ 
मझौला तथा ठूला सडकका ठेक्काहरू स–सानो रकममा बोलपत्र निकालेर ठेक्का लगाउँदा समयमै सकिने र छिटो पनि हुने भनिए पनि स्वदेशी निर्माण व्यवसायीहरू दशक बढी समय हुँदासम्म सडक नै नबनाइ बसेका उदाहरण धेरै छन्।

sadan.jpg

जसले गर्दा दशैंमा मात्रै नभइ सामान्य समयमा पनि सडक यात्रा कठिन हुने गरेको सरोकारवाला बताउछन्। यस्तै विभागका अनुसार पूर्वतर्फका सडकमा भने धेरै खण्डमा समस्या देखिएको छैन। मध्यपहाडी राजमार्गको विभिन्न खण्ड, खोटाङ–दिक्तेल, भोजपुर र हलेसीदेखि माथिल्लो उकालो भेगमा भने यात्रा दुरूस्त नभएको विभागले उल्लेख गरेको छ। 

आवतजावत असहज भएका सडकखण्ड

नौविसे–मुग्लीन
मुग्लीन–पोखरा
नारायणगढ–बुटवल
कमला–कञ्चनपुर
खोटाङ–दिक्तेल–भोजपुर खण्ड
हलेसीको उकालो खण्ड


प्रकाशित : शनिबार, असोज २२ २०७९०२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend