सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १४ २०७९
राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

गत वर्ष पनि बुग्लको पहिरोले राहुघाट जलविद्युत् आयोजना निर्माणको काम करिब तीन महिना प्रभावित भएको थियो।  

म्याग्दी- पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ।

रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको थियो। 

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बुग्लको पहिरो पन्छाएर पहुँचमार्ग सञ्चालन गरि बाँध र १ नम्बर अडित निर्माण सञ्चालन गरिएको जानकारी दिए। 'बाँध निर्माणस्थल जोड्ने पहुँचमार्ग मर्मतपछि सञ्चालन भएको छ', उनले भने, 'पहुँचमार्ग सञ्चालन भएपछि अब बाँध र पहिलो नम्बरको अडिट निर्माणको कामले गति लिन्छ।' 

बुग्लमा करिब दुई सय मिटर सडक बर्खायाममा पहिरो खसेर अवरुद्ध हुने गरेको छ। गत वर्ष पनि बुग्लको पहिरोले राहुघाट जलविद्युत् आयोजना निर्माणको काम करिब तीन महिना प्रभावित भएको थियो।  

राहुघाट जलविद्युत् आयोजना निर्माणस्थल म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा हो। रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँध बनाउन ढलानको काम थालिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले बताए। 

समग्रमा आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ। कूल छ किलोमिटर दुई सय ७० मिटरमध्ये तीन किलोमिटरभन्दा बढी सुरुङ निर्माण सकिएको छ। बाँध निर्माणस्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं चार छन्। 

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियटस (जेपी)ले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम एकैसाथ गरिरहेको छ । तिल्केनीचौरमा विद्युत्गृहको टर्वाइन रहने ठाउँभन्दा माथिसम्म ढलान भइसकेको छ। 

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियस (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।

कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ। विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तीव्रता दिएको प्रबन्ध सञ्चालक केसीले बताए। रासस


प्रकाशित : शुक्रबार, असोज १४ २०७९१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend