बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ईभी एक्सपोमा २५० विद्युतीय कार बुकिङ, कुन ब्रान्डको कति?  

आइतबार, असोज ९ २०७९
ईभी एक्सपोमा २५० विद्युतीय कार बुकिङ, कुन ब्रान्डको कति?  

हुन्डाईका विद्युतीय कारप्रति पनि उपभोक्ताको निक्कै चासो देखिएको थियो। हुन्डाईले एक्सपोमा आयोनिक फाइभ र कोना ईभी प्रदर्शनीका लागि राखेको थियो।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजनाको पहिलो ईभी एक्सपोमा करिब २ सय ५० वटा विद्युतीय कार बुकिङ भएको छ। ईभी एक्सपो २०२२ मा सहभागी विभिन्न कम्पनीहरूले उपलब्ध गराएको तथ्यांकअनुसार सो संख्यामा कार बुकिङ भएको हो।

ईभी एक्सपोमा सबैभन्दा धेरै टाटाको नेक्सन ईभी र टिगोर ईभी बुकिङ भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार ईभी एक्सपोमा नेक्सन ईभी र टिगोर ईभी गरि १ सय ७२ वटा बुकिङ भएको छ। एक्सपोमा नेक्सन ईभी र टिगोर ईभी बारे खरिद गर्न जिज्ञासा राख्नेहरूको संख्या भने ५ सयभन्दा बढी रहेको छ। 

त्यस्तै ईभी एक्सपोमा धेरै विद्युतीय कार बुकिङ हुनेमा निटा भी रहेको छ। चिनियाँ कम्पनी होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका निटा भी कार १ सय वटाभन्दा बढी बुकिङ भएका छन्। निटा भीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ ब्रान्ड भइकन एक्सपोमा आएका अवलोकनकर्ताले ठूलो चासोका साथ ब्रान्ड र उत्पादनबारे जानकारी लिएको बताएको छ।

हुन्डाईका विद्युतीय कार प्रति पनि उपभोक्ताको निक्कै चासो देखिएको थियो। हुन्डाईले एक्सपोमा आयोनिक फाइभ र कोना ईभी प्रदर्शनीका लागि राखेको थियो। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले औपचारिक रुपमा एक्सपोमा बुकिङ भएका कारको संख्या नखुलाए पनि करिब डेढ दर्जन कार बुकिङ भएका छन्। यसमध्य धेरै कोना ईभी बुकिङ भएको र केही संख्यामा आयोनिक फाइभ बुकिङ भएको छ। हुन्डाईको स्टल ईभी एक्सपोको वेस्ट स्टलका रुपमा छनोट भएको हो।

ईभी एक्सपोमा चर्चित अमेरिकी विद्युतीय कार टेस्लाका कारसमेत प्रदर्शनीका लागि राखिएको थियो। टेस्लाले औपचारिक रुपमा बुकिङ भएको संख्या नखुलाएपनि करिब एक दर्जन कार खरिद गर्न चासो देखाएका छन्। महँगो कार भएकाले एक्सपोमा आएर अन्य ब्रान्ड हेरेर तुलनापछि बुकिङ गर्ने नभइ टेस्ला किन्नेहरू पहिले नै प्रिपियर भएर आउने गरेका छन्। तथापी टेस्लामा टाटापछि सबैभन्दा धेरै अवलोकनकर्ता झुम्मिएका थिए। 

एक्सपोमा सबैभदा कम बीवाईडीका कार बुकिङ भएका छन्। चार दिनसम्म चलेको एक्सपोमा बीवाईडीका ८ वटामात्र विद्युतीय कार बुकिङ भएको हो। बीवाईडीको ईसिक्स कार प्रदर्शनीका लागि राखिएको थियो। आयातकर्ताले ईभी एक्सपोमा अर्को विद्युतीय कार एटो थ्री आउने बताएपनि उक्त कार प्रदर्शनीका लागि भने आउन सकेन। 

यी बाहेक अन्य चार पांग्रे ब्रान्ड चाङगन, किङलङलगायत ब्रान्डका भ्यान समेत प्रदर्शनीमा राखिएको थियो। यी सवारीसमेत संख्यामा बुकिङ भएका छन्। त्यस्तै बज्र ग्रुपले कार नआइपुगेको भएपनि केही संख्यामा विलिङ ब्रान्डको कार पनि बुकिङ लिएको हो। कम्पनीले कति बुकिङ भएभन्ने कुरा यकिन गरेको छैन। 

नाडा ईभी एक्सपो २०२२ गएको बिहीबारदेखि सुरु भएर आइतबारसम्म चलेको थियो। एक्सपोमा ३० हजार जनाभन्दा बढीले अवलोकन गरेको र विद्युतीय सवारीमात्र हुँदा पनि आम मानिसको चासो र उपस्थितिले थप ऊर्जा दिएको नाडाले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज ९ २०७९१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend