बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुई महिनामा भित्रियो ४ सय १४ वटा विद्युतीय कार

आइतबार, असोज ९ २०७९
दुई महिनामा भित्रियो ४ सय १४ वटा विद्युतीय कार

दुई महिनामा भित्रिएका ४ सय १४ वटा विद्युतीय कारको मूल्य १ अर्ब १९ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४ सय १४ वटा विद्युतीय कार नेपाल भित्रिएको छ। सरकारले एक सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारको कर यथावत राखेपछि सबैभन्दा बढी यही वर्गका विद्युतीय कार भित्रिएका छन्। 

चालु आवको साउन र भदौमा नेपालमा सबैभन्दा बढी एक सय किलोवाटसम्मका ४ सय २ वटा विद्युतीय कार भित्रिएको तथ्यांक छ। भन्सार विभागका अनुसार एकसयदेखि दुईसय किलोवाटसम्म मोटर क्षमताका १० वटा विद्युतीय कार भित्रिएका छन्। त्यस्तै उच्च कर भएका कार २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका २ वटामात्र विद्युतीय कार नेपाल आएको छ। 

३ सय किलोवाटभन्दा बढी मोटर क्षमताका विद्युतीय कार नेपाल आउन सकेन। २ महिनामा भित्रिएका ४ सय १४ वटा विद्युतीय कारको मूल्य १ अर्ब १९ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको छ। 

नेपाली बजारमा भातर र चीनबाट सबैभन्दा धेरै विद्युतीय कार भित्रिएका छन्। भारतबाट टाटाका विद्युतीय कार नेक्सन ईभी र टिगोर ईभी आइरहेका छन्। हाल नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कारका रुपमा टाटा नेक्सन ईभी रहेको छ। 

त्यस्तै चीनबाट निटा भी विद्युतीय कार आयात भइरहेको छ। यो कार पनि १ किलोवाटसम्म मोटर क्षमताको वर्गीकरणमा रहेकाले राम्रो संख्यामा बिक्री हुने थालिसकेको छ। त्यस्तै हुन्डाईको कोना पनि १ किलोवाटसम्म मोटर क्षमताको विद्युतीय कार हो। यो कारको माग समेत बढेको कम्पनीले जनाएको छ। 

यी बाहेक नेपाली बजारमा टेस्लादेखि अन्य चिनियाँ ब्रान्डका विद्युतीय कार बिक्री हुँदै आएको छ। नेपालमा विद्युतीय सवारीसम्बन्धी प्रदर्शनी जारी छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको उक्त ईभी एक्सपो बिहीबारदेखि सुरु भएर आज (आइतबार) सकिँदै छ। 


प्रकाशित : आइतबार, असोज ९ २०७९०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend