बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कार सार्वजनिक गर्न टाटाको 'प्याक सेड्युल', पन्च र ह्यारियर पनि विद्युतीय भर्सनमा आउने

शुक्रबार, भदौ ३१ २०७९
विद्युतीय कार सार्वजनिक गर्न टाटाको 'प्याक सेड्युल', पन्च र ह्यारियर पनि विद्युतीय भर्सनमा आउने

टाटाले ह्यारियरमा आधारित विद्युतीय एसयूभी २०२३ को मध्यतिर बजारमा ल्याउने भएको छ। त्यस्तै टाटाले माइक्रो एसयूभी पन्च ईभीको परीक्षण सुरु गरिसकेको छ।

काठमाडौं- टाटा मोटर्सले आफ्नो विद्युतीय कार पोर्टफोलियोमा थप दुई कार थप्ने भएको छ। कम्पनीले दुई एसयूभी पन्च र ह्यारियर (नेपालमा एच फाइभ)को पनि विद्युतीय भर्सन ल्याउने घोषणा गरेको हो। 

विश्व ईभी डेको साँझमा टाटा मोटर्सले उक्त घोषणा गरेको थियो। शून्य प्रदूषण सवारीको प्रयोागलाई उच्च प्राथमिकता दिँदै टाटा मोटर्सले धमाधन विद्युतीय सवारी सार्वजनिक गर्दैछ। आगामी ४/५ वर्षमा टाटा मोटर्सले १० मोडलका विद्युतीय कार बिक्रीका लागि ल्याइसक्ने जनाएको छ। 

टाटा मोटर्सले केही दिनअघि आफ्नो चर्चित ह्याचब्याक कार टियागोको समेत विद्युतीय भर्सन ल्याउने बताइसकेको छ। टियागो ईभी सेप्टेम्बर महिनाको अन्त्यमै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। 

टाटाले ह्यारियरमा आधारित विद्युतीय एसयूभी २०२३ को मध्यतिर बजारमा ल्याउने भएको छ। त्यस्तै टाटाले माइक्रो एसयूभी पन्च ईभीको परीक्षण सुरु गरिसकेको छ। यो विद्युतीय माइक्रो एसयूभी पनि आगामी वर्ष नै बजारमा आउनेछ। टाटाले अल्ट्रोज कारको पनि विद्युतीय भर्सन ल्याउने बताइसकेको छ। 

त्यस्तै नितान्त विद्युतीय कार नै लागि डिजाइन गरिएको कर्भ र अभेन्या ईभीको कन्सेप्ट टाटाले केही महिना अघि नै सार्वजनिक गरिसकेको छ। यी कार पनि २०२४ सम्म बजारमा आउने अनुमान गरिएको छ। यसरी हेर्दा टाटाको विद्युतीय सवारी सार्वजनिक गर्ने सेड्युल निक्कै प्याक देखिएको छ। 

हाल टाटाले भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी, बिक्री गर्दै आएको छ। यही महिनाको अन्त्यबाट टियागो ईभी समेत आउनेछ। भारतमा विद्युतीय कार बिक्रीमा टाटा अब्बल दर्जामा रहेको छ। महिन्द्राले टाटालाई पक्षाउने गरि विद्युतीय कारको मोडल सार्वजनिक गरेको छ। तर महिन्द्राको पहिलो विद्युतीय एसयूभी एक्सयस्भी ४०० पनि २०२३ को जनावरीमा मात्र बिक्रीका लागि उपलब्ध हुनेछ। त्यतिन्जेलसम्म टाटाले आफ्नो ईभी पोर्टफोलियोमा दुई विद्युतीय कार थपिसक्नेछ। 

टाटाका विद्युतीय नेक्सन ईभी र टियोर ईभी नेपाल बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भइरहेको छ। हाल नेपालमा सवार्धिक बिक्री हुने विद्युतीय कारमा नेक्सन ईभी नै रहेको छ। भारतमा सार्वजनिक भएलगत्तै टियागो ईभी समेत नेपाल ल्याउने टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। 

नेपालमा कम मूल्यका विश्वसनीय विद्युतीय कारको पर्खाइमा बस्ने उपभोक्ताको संख्या ठूलै छ। चिनियाँ विद्युतीय कार आएको भएपनि या त मूल्य बढी तोकिएको या विश्वसनीय ब्रान्ड बन्ने नसकेकाले उपभोक्ता त्यतातर्फ आकर्षित हुन सकेका छैनन्। टियागो ईभीले यो वर्गका उपभोक्तालाई आकर्षित गर्नसक्ने छ। 


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend