शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

दार्चुलाको विकट स्थान छाङरुमा टेलिकमको फोरजी सेवा

बिहीबार , भदौ ३० २०७९
दार्चुलाको विकट स्थान छाङरुमा टेलिकमको फोरजी सेवा

काठमाडौं- नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा सुरु गरेको छ। त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ। 

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो। ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको टेलिकमले जनाएको छ।  

अब छाङरुमा रहेका करिव १ सय २० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने टेलिकमले जनाएको छ। अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको टेलिकलमे जनाएको छ। 

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८ सय  मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन कम्पनी जनाएको छ। यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन्। 

विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ। यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ।


प्रकाशित : बिहीबार , भदौ ३० २०७९१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend