बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वानले बनायो अहिलेको भन्दा ५० प्रतिशत सस्तोमा ९६५ किलोमिटर माइलेज दिने ब्याट्री 

बुधबार, भदौ २९ २०७९
वानले बनायो अहिलेको भन्दा ५० प्रतिशत सस्तोमा ९६५ किलोमिटर माइलेज दिने ब्याट्री 

हाल संसारभर उत्पादन भइरहेका ब्याट्रीको प्रतिकिलोवाट आवरको औषत लागत १ सयदेखि ११० अमेरिकी डलर रहेको छ।

काठमाडौं- एक कम्पनीले एक पटकको फुल चार्जमा ९ सय ६५ किलोमिटर माइलेज दिने विद्युतीय कारको ब्याट्री बनाएको छ। उक्त ब्याट्री हाल बजारमा उपलब्ध ब्याट्रीको तुलनामा आधा सस्तोसमेत रहेको दाबी गरिएको छ। 

अमेरिकाको मिचिकगमा रहेको एक स्टार्टअफ कम्पनीले अहिले बजारमा उपलब्ध ब्याट्रीभन्दा ५० प्रतिशत सस्तोमा करिब हजार किलोमिटर माइलेज दिने ब्याट्री बनाएको हो। सो ब्याट्री उत्पादन गर्ने कम्पनी वान अर्थात आवर नेक्स्ट इनर्जी हो। 

मंगलबार वानले एनोड फ्रि ब्याट्री प्याक बनाएको र त्यो अहिलेको भन्दा ५० प्रतिशत सस्तोमा बजारमा आउने तथा ६ सय माइल (९६५ किलोमिटर) रेन्ज दिने घोषणा गरेको हो। गिमिनी ब्याट्री प्याक २०२६ बाट अमेरिकी प्लाममा २० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने दाबी वानका संस्थापक तथा प्रमुख कार्यकारी मुजेव इजाजले गरेका छन्। 

अन्य ब्याट्री उत्पादकहरुले एनोड फ्रि डिजाइनको विकास गरिरहेका बेला वानले भने गिमिनी ब्याट्री युनिक तरिकाले दुई भिन्न केमेस्ट्रीयुक्त सेल बनाउने बताएको छ। उक्त दुई भिन्न सेलका ब्याट्री एउटा नियमित रुपमा गाडी चलाउनका लागि र अर्को लामो यात्रामा जाँदा धेरै रेन्ज आवश्यक पर्दा प्रयोग गर्न सकिने गरि विकास गरिएको छ। 

वानले बनाउने ब्याट्रीमा लिथियमका अलावा अन्य दुई तत्वसमेत प्रयोग हुनेछ। लिथियम बाहेकका तत्वहरुले ब्याट्रीको रेन्ज बढाउने सहयो गरेको दाबी वानको छ। 

हाल संसारभर उत्पादन भइरहेका ब्याट्रीको प्रतिकिलोवाट आवरको औषत लागत १ सयदेखि ११० अमेरिकी डलर रहेको छ। तर वानले उत्पादन गर्ने प्रतिकिलोवाट आवर ब्याट्रीको औषत लागत ५० अमेरिकी डलर मात्र हुने दाबी गरेको छ। २०१७ ताका प्रतिकिलोवाट आवर ब्याट्रीको लागत २ सय अमेरिकी डलरभन्दा बढी थियो।

‘हाम्रो लक्ष्य २०२६ मा शून्य कोबल्ट र २६ प्रतिशत वा त्योभन्दा कम निकल प्रयोग गएको गिमिनी ब्याट्री बजारमा ल्याउने हो,’ वानका प्रमुख कार्यकारीले भनेको रोयटर्सले लेखेको छ। वानले गिमिनी ब्याट्री सेप्टेम्बर ११ देखि १५ मिचिगनको नोभीमा भइरहेको द ब्याट्री शोमा समेत प्रदर्शनीमा राखेको छ। 

यो मूल्यमा विद्युतीय कारको ब्याट्री ठूलो संख्यामा उत्पादन हुन सक्यो भने विद्युतीय सवारीको क्षेत्रमा ठूलो उछाल आउने छ। यसले विद्युतीय सवारीको हालको लागतमा ३० देखि ४० प्रतिशतसम्म कमी आउनेछ।  

विद्युतीय सवारीको सबैभन्दा बढी लागत ब्याट्रीमा नै हुने भएकाले ब्याट्रीको लागत कम हुने हो भने सहज रुपमा विश्वभरका उपभोक्ताले सस्तो मूल्यमा विद्युतीय कार चढ्न पाउने छन्। स्टार्टअपदेखि परम्परागत टाइकुट कार उत्पादकहरुसम्म कम लागतमा धेरै माइलेज दिने ब्याट्री उत्पादनमा लागि गरेका छन्। यसका लागि उनीहरु अर्बौं डलर लगानी गरिसकेका छन्। 

विश्वले जलवायु परिवर्तनमा पेट्रोलियम सवारीको मुख्य भूमिका रहेको ठहर गर्दै शून्य प्रदूषण सवारीलाई अबको वैकल्पिक सवारीका रुपमा स्वीकार गरिसकेको छ। त्यसैले आगामी दिनमा अझै सस्तोमा ब्याट्री तथा विद्युतीय कार उत्पादन हुने सहजै अनुमान गर्न सकिन्छ। यस्तो खोज तथा उत्पादनबाट नेपाललगायत देशका उपभोक्ताले समेत लाभ पाउने छन्। 


प्रकाशित : बुधबार, भदौ २९ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend