शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कल सेन्टर नियमनका लागि कानूनी व्यवस्था गर्दै प्राधिकरण 

आइतबार, भदौ २६ २०७९
कल सेन्टर नियमनका लागि कानूनी व्यवस्था गर्दै प्राधिकरण 

सूचना प्रविधिमा आधारित सेवा भएपनि कम्पनी दर्ताकै भरमा व्यवसाय सञ्चालन हुने र सजयाको पनि स्पष्ट व्यवस्था छैन। यही कारणले ठगीमा संलग्नलाई कडा सजाय दिन नसकिएको अधिकारीहरूले बताउँदै आएका छन्। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले कल सेन्टर सेवाको स्थापना तथा सञ्चालनसम्बन्धी नियम बनाउने भएको छ। 

दूरसञ्चार क्षेत्रको नियामक रहेको प्राधिकरणले कल सेन्टरसम्बन्धी नियम बनाउने घोषणा गरेको छ। चालु वर्षको वार्षिक बजेट तथा कार्यक्रममै आउटसोर्स कम्पनी तथा कल सेन्टर सम्बन्धी नियम बनाउने प्राधिकरणले घोषणा गरेको छ। 

वर्तमान अवस्था, सेवा सञ्चालनको प्रविधि र प्रकृति, कम्पनीको सञ्चालन नियमन, लगानी तथा रोजगारीको अवस्थाका बारेमा अध्ययन गरिने छ। यसका लागि प्राधिकरणले परामर्शदाताको माध्यमबाट अध्ययन गर्ने छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई यस्तो नियमनको व्यवस्था गर्न निर्देशन दिएको थियो। सोही आधारमा प्राधिकरणले यस्तो नियम बनाउने भएको छ। 

दूरसञ्चार तथा इन्टरनेटको उपयोगबाटै कल सेन्टर सञ्चालन हुने र यसको दुरुपयोग पनि डिजिटल माध्यमबाटै हुने भएकाले नियम बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो।

पछिल्लो समय नेपालमा कल सेन्टर ठगी बढिरहेको छ। कल सेन्टर चलाएर विभिन्न ठगीका गतिविधि भइरहेका छन्। यस्ता ठगीमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ पनि गर्दै आएको छ। तर यसको व्यवस्थित नियमन नहुँदा कमजोर मुद्दा चल्ने गरेको छ। 

सूचना प्रविधिमा आधारित सेवा भएपनि कम्पनी दर्ताकै भरमा व्यवसाय सञ्चालन हुने र सजयाको पनि स्पष्ट व्यवस्था छैन। यही कारणले ठगीमा संलग्नलाई कडा सजाय दिन नसकिएको अधिकारीहरूले बताउँदै आएका छन्। 

प्राधिकरणले कल सेन्टरसँगै सूचना प्रविधि सम्बन्धी अन्य व्यवसायको नियमन गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ। सूचना प्रविधिसँग सम्बन्धी व्यवसाय तर अहिले खासै नियमन नभइरहेका क्षेत्रमा नियमन आवश्यक भएको भन्दै प्राधिकरणले नयाँ नियमको व्यवस्था गर्न लागेको हो। 

आउटसोर्सिङ कम्पनीहरूलाई पनि नियमनको दायरामा ल्याउने प्राधिकरणको तयारी छ। यस्तो नियमनबाट असल व्यवसाय गर्नेहरूलाई प्रोत्साहन हुने र राज्यलाई पनि राजस्व प्राप्त हुने प्राधिकरणको विश्वास छ। 


प्रकाशित : आइतबार, भदौ २६ २०७९०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend