सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रत्नपार्कको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, देशभर ५१ वटा स्टेसन बन्दै

मंगलबार, भदौ १४ २०७९
रत्नपार्कको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, देशभर ५१ वटा स्टेसन बन्दै

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा निर्माण गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्टेसनको उद्घाटन गरेकी हुन्। 

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै प्राधिकरणले देशका प्रमुख सहर तथा राजमार्गहरूमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने तयारी गरेको घोषणा समेत गरेको छ। प्राधिकरणका अनुसार देशका विभिन्‍न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ। २६ वटा जीबीटी ‘ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरू चार्जर निर्माणको चरणमा रहेको छ। 

जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिनेछ।

EV charging station (1).jpg

चार्जिङ स्टेशन सञ्चालकले विद्युतीय सवारी साधानलाई चार्जिङ सेवा दिएबापत महशुल दरमा प्रति किलोवाट–घण्टा (युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने छन्। चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बीच छुट्टाछुट्टै सम्झौता गरिसकेको छ।

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको समेत प्राधिकरणले जनाएको छ।

ev charging station (1).JPG

प्राधिकरणले कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने दावी गरेको छ। चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने लाग्ने समेत प्राधिकरणले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ १४ २०७९०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend