सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो; आयोजनामा दुई खर्ब लगानी, ६ वर्षमा बनिसक्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ३१ २०७९
अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो; आयोजनामा दुई खर्ब लगानी, ६ वर्षमा बनिसक्ने

आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ। आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ।

किमाथाङ्का- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ। अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो।

१ हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका  हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख  निर्धारण गरिएको छ। जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो। 

त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको छ। जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ। अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ। जलविद्युत् आयोजनाको लागि भोटखोलामा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिँदै छ। 

दुई खर्बको लगानी, ६ वर्षमा बनिसक्ने

आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ। आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ। सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्बभन्दा बढी छ। सन् २०२४ को मध्यदेखि  जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ। आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ३१ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend