सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २८ २०७९
रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ।

रुकुमपूर्व- रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ। जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो। रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ।

विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ। अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ। प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए। उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ। विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ। 

लागत खर्च १ अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ। सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए।

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो। उनले मङ्सिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए।

रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमका धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ। यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ। आयोजनाले पूर्णता पायो भने रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए। रासस


प्रकाशित : शनिबार, साउन २८ २०७९०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend