सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्याटेलाइटका लागि परामर्श दिन टर्किस कम्पनी छनौट 

बुधबार, साउन ११ २०७९
स्याटेलाइटका लागि परामर्श दिन टर्किस कम्पनी छनौट 

२०७९ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने गरी सरकारले २०७७ को भदौमा भू-उपग्रहसम्बन्धी नीति सार्वजनिक गरेको थियो।  

काठमाडौं- नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्‍नका लागि आवश्यक परामर्श दिनका लागि टर्कीको टर्कस्याट कम्पनी छनौट भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले टर्कस्याटलाई परामर्शको जिम्मा दिएको हो। आठ महिनाभित्र काम सम्पन्न गर्नेगरी टर्कस्याटसँग सम्झौता भएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। कम्पनीसँग १ करोड ४० लाख अमेरिकी डलरमा काम गर्नेगरी सम्झौता भएको हो। 

सम्झौता अनुसार आठ महिनाभित्र काम गरिसक्नुपर्ने छ। अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस गरेका सो कम्पनीमध्येबाट प्राधिकरणले चार कम्पनी छनोट गरेको थियो। 

फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकम अन्तिम चारमा छनौट भएका थिए। यसमध्येबाट टर्कस्याट को प्रस्ताव लाभग्राही भएकाले छनौट गरिएको प्राधिकरणले उल्लेख गरेको छ। प्राविधिक र आर्थिक मूल्याङ्कनका आधारमा उत्कृष्ट भएकाले टर्कस्याट छनौट भएको उनले जानकारी दिए। 

नेपालले आफ्नै भू-उपग्रह स्थापना गर्ने योजना यसअघि नै बनाइसकेको छ। यसका लागि सम्भाव्यता अध्ययनदेखि खरिदको प्राविधिक विवरणमा सहयोग गर्नका लागि यो पारमर्शदाताको भूमिका हुने छ। 

१ करोड ४० लाख डलरमा परामर्शको जिम्मा पाएको टर्कस्याटले मुख्यतया आठवटा काम गर्ने छ। सहायक प्रवक्ता मिश्रका अनुसार यो कम्पनीले सबैभन्दा पहिला स्याटेलाइटको सम्भाव्यता अध्ययन गर्ने छ। नेपालका लागि अहिले उपलब्ध अर्बिटको अवस्था, त्यसमा स्याटेलाइट लञ्च गर्दा सिर्जना हुने अवसर र त्यसबाट नेपालले लिनसक्ने लाभका बारेमा अध्ययन गर्ने छ। यी सबै अध्ययन गरेर सम्भव भए नभएकव निष्कर्ष प्राधिकरणलाई दिने छ। 

दोस्रो व्यावसायिक मोडलका बारेमा सुझाव दिने छ। संसारभरका अभ्यासका आधारमा नेपालको स्याटेलाइटको व्यावसायिक मोडल के हुनसक्छ भनेर बिकल्पसहितको मोडल सिफारिस गर्नेछ। प्राधिकरणलाई छनौटका लागि सहयोग पुग्नेगरी बिकल्पसहितको मोडल यो कम्पनीले दिनुपर्ने छ। 

यी बाहेक यो कम्पनीले स्याटेलाइट लञ्चका लागि नेपाल सकरारले गर्नुपर्ने अन्तर्राष्ट्रिय सहकार्यमा पनि सहयोग गर्नुपर्ने छ। अन्तर्राष्ट्रिय संघ संस्थासँग नेपालले गर्नुपर्ने प्रशासनिक तथा प्राविधिक सहकार्यमा यही कम्पनीले सहयोग गर्नुपर्ने छ। यो सब अध्ययन सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट खरिद तथा जडानका लागि अर्को खरिद योजना तथा दस्तावेज बनाउनुपर्ने छ। 

यसका लागि पनि टर्कस्याटले नै सहयोग गर्नुपर्ने छ। स्याटेलाइट खरिद तथा जडानका लागि आवश्यक पर्ने खरिद जस्तावेज, प्राविधिक तथा ग्राउन्ड स्पेसिफिकेसन पनि यही कम्पनीले बनाइदिनुपर्ने छ। स्याटेलाइट खरिद तथा जडानका लागि भएको सम्झौतास्म्म यो पारमर्शदाताको जिम्मेवारी हुने छ। 

२०७९ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने गरी सरकारले २०७७ को भदौमा भू-उपग्रहसम्बन्धी नीति सार्वजनिक गरेको थियो।  


प्रकाशित : बुधबार, साउन ११ २०७९०२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend