मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

त्रिदेशीय नाकामा समस्या : फोरजीका लागि टावर तर चल्दैन फोन नै 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
त्रिदेशीय नाकामा समस्या : फोरजीका लागि टावर तर चल्दैन फोन नै 

सामरिक महत्व बोकेको दार्चुलाको त्रिदेशीय नाकामा सञ्चार विच्छेद भएको छ। व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो।

दार्चुला- सामरिक महत्व बोकेको दार्चुलाको त्रिदेशीय नाकामा सञ्चार विच्छेद भएको छ। व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो।

गत वर्षबाट अवरुद्व बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताए। गत वैशाख/जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन्। 'छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ', बोहराले भने, 'भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ।'

भायनेट पनि सधैँ नचल्दा समस्या हुने गरेको छ। कहिलेकाहीँ महिनौँ दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए। नेपाल टेलिकमको स्काइ फोन चल्दैन। टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुईपटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासी बताउँछन्।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन। टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ। तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन। छांगरुमा राखिएको स्काइ टावरले तिंकर गाउँमा काम गर्दैन। तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए।

छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए। नियमित घाम नलाग्दा पावर बचत हुन सकेको छैन। छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए। मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन्। छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ। ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन्। रासस


प्रकाशित : बुधबार, असोज १३ २०७८०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend