सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुवै वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३० २०७९
राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुवै वृद्धि

बुढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी मरिन डाइभर्सन आयोजना, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, काठमाडौं तराई–मधेस द्रुतमार्ग लगायतका आयोजनाको प्रगति न्यून रहेको छ।

काठमाडौं- राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुवैमा वृद्धि भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो।

सरकारले गत आर्थिक वर्ष २०६८/६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्,विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो।

हालसम्म राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न २४ वटा आयोजना रहेका छन्। गत आर्थिक वर्ष २०७७/७८ सम्म उक्त आयोजनाले प्रगति विवरण न्यून रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। १० वर्षदेखि प्राथमिकताका साथ कार्य हुँदै आएकोमा माथिल्लो तामाकोशी आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुननसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, खरिद कार्य गर्नुपूर्वका कार्य जग्गा प्राप्ति र क्षतिपूर्ति, वातावरणीय प्रभाव मूल्याङ्कन प्र्रतिवेदन स्वीकृति, सीमाकङ्न, रेखाकङ्कन लगायतका कार्य सम्पन्न नगरी निर्माणको खरिद गर्नु, अन्तर निकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्याङ्कन लगायतका समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै बढी भएको उल्लेख गरिएको छ।

यी हुन् लागत र समय दुवै थपिएका आयोजना

महालेखाको प्रतिवेदन अनुसार २४ वटा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न १० आयोजनाको लागत र  समय दुवै थपिएका छन्। गत आर्थिक वर्ष २०६६/६७ सालमा निर्माण सुरु गरिएको रेल्वे तथा मेट्रो विकास आयोजनाले भौतिक प्रगति शून्य रहेको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म २४ अर्ब ४७ करोड खर्च भए पनि भौतिक प्रगति शून्य देखिएको प्रतिवेदनमा उल्लेख छ। उक्त आयोजना निर्माणका लागि सरकारले पाँच खर्ब ५५ अर्ब २२ करोड खर्च हुने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०६५/६६ सालमा निर्माण सुरु भएको उत्तर दक्षिण (कर्णाली करिडोर) को भौतिक प्रगति २८ प्रतिशत मात्र रहेको छ।

आगामी आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म ११ अर्ब ३० करोड बढी खर्च भइसकेको छ।  

यस्तै, गत आर्थिक वर्ष २०६५/६६ मा निर्माण सुरु भएको उत्तर दक्षिण (कोसी करिडोर) लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत रहेको छ। २०८०/८१ मा सक्नुपर्ने उक्त आयोजनाका लागि हालसम्म ३० अर्ब ५८ करोड खर्च भइसकेको छ।

प्रतिवेदन अनुसार महाकाली सिँचाइ आयोजना, उत्तर दक्षिण कालीगण्डकी आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी मरिन डाइभर्सन आयोजना, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, काठमाडौं तराई–मधेस द्रुतमार्ग लगायतका आयोजनाको प्रगति न्यून रहेको छ।

पुष्पलाल (मध्य पहाड) राजमार्ग आयोजनाको हालसम्म ५७.८४ प्रतिशत भौतिक प्रगति भएको छ। २०६४/६५ सालदेखि निर्माण सुरु गरिएको उक्त आयोजना २०७९/८० मा सक्ने लक्ष्य राखिएको छ। उक्त आयोजनाका लागि सरकारले ८४ अर्ब ३३ करोड छुट्याएकोमा हालसम्म ५३ अर्ब ३४ करोड खर्च भइसकेको छ। रासस


प्रकाशित : बिहीबार , असार ३० २०७९०७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend