मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ठेक्का भएको सात वर्षपछि कालोपत्र, कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
ठेक्का भएको सात वर्षपछि कालोपत्र, कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

काठमाडौं- भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो। कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो। यस्तो दृश्य अहिले जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकको गोकर्ण-नयाँपाटी खण्डमा देखिन्छ।

कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठ बताउँछन्। सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिच्छ्याउने र  तार भूमिगत नगर्ने तर  सडक कालोपत्र हुनेबित्तिकै यी काम थालिएको छ। कालोपत्र भएको सडक दुई महिनामै भत्कँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ।

यो समस्याबाट एक दशकसम्म दुःख पाएका स्थानीयवासी र यात्रु फेरि समस्यामा पर्ने भएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महत भत्काइएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताउँछन्।

नेपाल टेलिकमले सडक कालोपत्र भएपछि खन्न थालेको, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरण पनि सडक बन्नुअघि काम गर्न नआउने र बनिसक्नेबित्तिकै खन्न आउँदा सडकमा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको उनको गुनासो छ।

गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा भने धाराबाट सडकमा जाने पानीका कारण सडक बिग्रिएको जनाइएको छ। दुई महिनामै सडक भत्किएको सम्बन्धमा प्रतिक्रिया लिन निर्माण व्यवसायी सन्तकुमार श्रेष्ठसँग फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख कृष्ण ओझा जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकको काम सकेर निर्माण व्यवसायीले नबुझाएकाले बिग्रिएको काम फेरि गरेर बुझाउनुपर्ने बताउँछन्। नयाँपाटी पुलबाट सुन्दरीजलसम्मको केही भाग अझै कालोपत्र गर्न बाँकी रहेकाले त्योसँगै भत्किएको भागमा पनि काम गर्ने प्रतिबद्धता आशीष/सिएम जेभीले जनाएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असार २० २०७९०८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend