मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नारायणगढ-बुटवल सडक : प्रगति १८ प्रतिशत मात्रै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १२ २०७९
नारायणगढ-बुटवल सडक : प्रगति १८ प्रतिशत मात्रै

नवलपुर- राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ-बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन्। तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ।

विसं २०७९ साउन २२ गतेभित्र सडक विस्तारको काम सकाएर सरकारलाई हस्तान्तरण गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएको थियो। बायालिस महिनाभित्र निर्माण सक्ने गरी सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’ले करिब दुई महिना ढिलागरी सडक विस्तार थालेको थियो। विभिन्न अवरोध र कोभिड-१९ का कारण काममा ढिलाइ भएको हो।

नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जिनीयर रमेशकुमार दिष्टी पछिल्लो समय सडक विस्तारको कामले गति लिएको बताउँछन्। 'रुख कटानमा अवरोध भयो, बिजुलीको खम्बा पनि समयमै फेर्न सकिएन', उनले भने। उक्त सडकखण्ड सहरी क्षेत्रमा ६ लेन तथा अन्यत्र चार लेनमा विस्तार हुँदैछ। निर्धारित समयमै काम नसकिने दिष्टीको भनाइ छ। 
 
पूर्व-पश्चिम राजमार्गअन्तर्गत ११४ किमी लामो नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा ६५ किमी सडक पर्छ। सडकको बीच भागमा बिरुवा रोपण गरिने आयोजनाले जनाएको छ। सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक तीन लेनको मात्रै हुनेछ। पूर्वी खण्डमा सडक विस्तारसँगै १२ ठूला तथा २२ साना पक्की पुल निर्माण हुँदैछन्। 'ठूला ११ र साना नौ पुल निर्माण सम्पन्न भएका छन्', योजना प्रमुख दिष्टीले भने। 

सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान गरिएको छ। केही स्थानमा मात्रै रुख कटानको काम बाँकी रहेको उनले बताए। विस्तारसँगै गैँडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको उक्त सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ। लागतको ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी)ले ऋणस्वरुप उपलब्ध गराएको प्रमुख दिष्टीले जानकारी दिए। गैँडाकोट-दाउन्ने सडकखण्ड (६५ किमी) को लागत नौ अर्ब १३ करोड १९ लाख तथा दाउन्ने-बुटवल खण्ड (४९ किमी) को लागत सात अर्ब ८६ करोड ३४ लाख छ। रासस


प्रकाशित : आइतबार, असार १२ २०७९०९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend