सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

११ महिनामा ३ खर्ब ४० अर्बको इन्धन आयात, सरकारले उठायो १ खर्ब १८ अर्ब राजस्व 

बिहीबार , असार ९ २०७९
११ महिनामा ३ खर्ब ४० अर्बको इन्धन आयात, सरकारले उठायो १ खर्ब १८ अर्ब राजस्व 

संसारभरका कतिपय सरकारले उपभोक्तालाई राहत दिनका लागि कर छुट दिएका छन्। नेपाल सरकारले भने करमा कुनै पनि सहुलियत दिएको छैन। 

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा ३ खर्ब ४० अर्बको इन्धन आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै आयात हुने वस्तु समूहमा पेट्रोलियम पदार्थ छ। २०७८ सालको साउनदेखि २०७९ सालको जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत वर्षको यही अवधिमा १ खर्ब ९१ अर्बको  आयात भएको थियो। 

पेट्रोलियम पदार्थको आयातसँगै यसबाट सरकारले उठाउने राजस्वमा पनि वृद्धि भएको छ। गत वर्षको ११ महिनामा सरकारले ९० अर्ब राजस्व उठाएको थियो। यो वर्ष भने १ खर्ब १८ अर्ब राजस्व उठाएको छ। 

सरकारले पेट्रोलियम पदार्थ अनुसार कर लगाउँदै आएको छ। भन्सार महसुल, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर र मूल्यअभिवृद्धि कर लगाउँछ। 

डिजेल पेट्रोल र हवाइ इन्धनमा यी सबै कर लाग्छन् भने खाना पकाउने ग्यासमा धेरै करमा छुट रहेको छ। 

पेट्रोलियम पदार्थको मात्रामा आयात भने धेरै बढेको छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले यसका लागि विदेशी मुद्रा बाहिरिएको छ। भन्सार विभागको तथ्यांक अनुसार पेट्रोलको आयात २० हजार किलोलिटर बढेको छ। रकम भने ३९ अर्बले बढेको छ। पेट्रोल जस्तै अन्य पदार्थको आयात पनि यस्तै रहेको छ। 

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियमको मूल्य बढेकाले उपभोक्ता मूल्य बढिरहेको छ। संसारभरका कतिपय सरकारले उपभोक्तालाई राहत दिनका लागि कर छुट दिएका छन्। नेपाल सरकारले भने करमा कुनै पनि सहुलियत दिएको छैन। 

आधा दर्जन शीर्षकमा कर लगाउँदै आएको सरकारले एक लिटर पेट्रोलमा ६५ रुपैयाँ कर उठाउँदै आएको छ। १३१ रुपैयाँ लिटर भन्सार नाकामा बुझ्ने सरकारले यहाँ उपभोक्तालाई भने १९९ रुपैयाँ लिटर बिक्री गरिरहेको छ। 


प्रकाशित : बिहीबार , असार ९ २०७९०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend