सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिकारीको ल्यान्ड रोभर जुन आफै ‘सिकार भयो’

मंगलबार, असोज १२ २०७८
सिकारीको ल्यान्ड रोभर जुन आफै ‘सिकार भयो’

गाडी जफत गरी निलामी गर्ने निर्णय भएको ६ वर्ष पुरा भइसेको छ। तर निकुञ्जले हालसम्म गाडी लिलामीको सूचना नै जारी गर्न सकेको छैन। निकुञ्जले कानुनी प्रक्रिया पुरा हुन केही ढिला भएका कारण लिलामीमा ढिला भएको जिकिर गरेको छ। 

काठमाडौं- २०७१ असारमा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको टोलीले एउटा गाडी जफत गर्‍यो। टोलीले निकुञ्जभित्र सिकार खेल्नकै लागि गाडी जंगलमा घुमिरहेको सूचना पायो। सूचना पाउन साथ गाडीलाई पछ्याउन थाल्यो। तब गाडीमा सवार सबै सिकारी गाडी नै छोडेर भागे। सिकार खेल्न सिकारी चढेको गाडीको नम्बर थियो बा २ च ८४२३। 

गाडी थियो बेलायती ब्रान्ड 'ल्यान्ड रोभर डिफेन्डर'। गाडी नियन्त्रणमा लिएपछि निकुञ्जले गाडी लिएर आउने व्यक्तिको खोजी थाल्यो। तर गाडीमात्र नभइ गाडी लिएर सिकार गर्न आउने व्यक्तिसमेत पक्राउ गर्न चाहन्थ्यो, निकुञ्ज प्रशासन। 

तर प्रशासनको उक्त चाहन पूरा हुन सकेन। निकुञ्जले व्यक्ति पहिचान गर्न नसक्नु अहिलेसम्म पनि रहस्यमै छ। निकुञ्जले चाहेको भए गाडीमा सवार सबै व्यक्तिको विवरण लिन सक्थ्यो भन्छन् त्यहाँका तत्कालीन एक कर्मचारी। 

‘व्यक्तिको पनि पहिचान त भएको थियो। पहिचान भएको व्यक्तिलाई राज्य सत्ताबाटै जोगाउने काम भएको हो। व्यक्ति फेला नपरेको सूचना जारी गर्न निर्देशन भयो,’ तत्कालीन समयमा निकुञ्जमा कार्यरत एक कर्मचारीले भने, ‘गाडी जफत गर्ने र उनीहरूको पहिचान नखुलाउने सहमति भएपछि सोहि अनुसार निकुञ्ज अगाडि बढ्यो।’

गाडी चौरमा ल्याएर राखियो। गाडी कसको नाममा थियो भनेर निकुञ्जले खोजी पनि गरेको थियो। तर सिकारीले राज्य शक्ति प्रयोग गरेर गाडी कसको नाममा थियो त्यो पनि सार्वजनिक गर्न दिएन। निकुञ्जका कर्मचारीले पनि माथिल्लो निकायबाट जे निर्देशन आयो त्यही अनुसार काम गर्दै गए। 

land rover (1).jpg

गाडी समातिएको एक वर्षपछि निकुञ्जले गाडी जफत गर्ने निर्णय गर्‍यो। एक वर्षमै जफत गर्ने निर्णय गर्नुको पछाडि अर्को रहस्य थियो। एक वर्षभित्र निकुञ्जबाट निर्णय हुन नसकेको अवस्थामा जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्ने थियो। 

अदालत पुगेपछि एकपछि अर्को गर्दै सबै पोल खुल्ने डरमा सिकारमा गएकाहरूले नै दबाब दिएर निकुञ्जबाट नै गाडी जफत गर्ने निर्णय गराए। सोहीअनुसार निकुञ्जले २०७२ असारमै गाडी जफत गरी लिलाम बढाबढमा बिक्री गर्ने निर्णय गरेको थियो।

यसरी निकुञ्जले समातेर लिलामी गर्ने निर्णय गरेको गाडी यातायात व्यवस्था कार्यालय साना ठूला सवारीको सवारी दर्ता किताबमा उक्त गाडी मल्ल होटलको नाममा दर्ता भएको थियो। तर निकुञ्जले शक्ति केन्द्रको दबाबको विवरण खोज्न कुनै चासो दिएन। 

गाडी जफत गरी निलामी गर्ने निर्णय भएको ६ वर्ष पूरा भइसेको छ। तर निकुञ्जले हालसम्म गाडी लिलामीको सूचना नै जारी गर्न सकेको छैन। निकुञ्जले कानूनी प्रक्रिया पूरा हुन केही ढिला भएका कारण लिलामीमा ढिला भएको जिकिर गरेको छ। 

अब केही समयमै गाडी लिलामी हुने निकुञ्जको भनाइ छ। तर ६ वर्षदेखि खुला आकाशमुनी हेरचाहबीनै रहेकाले उक्त गाडी काम नलाग्ने अवस्थामा पुगेको छ। गाडीका पार्टपुर्जासमेत चोरी भएको हुन सक्छ।

यो गाडीको नयाँ खरिद गर्दा २ करोड रुपैयाँ भन्दा बढी पर्छ। यो गाडी धेरै पहिले नै खरिद गरिएको हो। उक्त समयमा पनि नेपालमा यो  महँगो नै थियो।

निकुञ्जले समयमै गाडी लिलामी गरेको थियो भने त्यसको उचित मूल्य प्राप्त गर्न सक्थ्यो। तर हालसम्म चौरमै राखिएको ल्यान्ड रोभर डिफेन्डर चल्ने अवस्थामा ल्याउन धेरै खर्च गर्नुपर्ने देखिन्छ। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८१२:१५
  • सम्बन्धित विषय:

  • # ल्यान्ड राेभर
  • # ल्यान्ड राेभर डिफेन्डर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend